सेयरमा अनलाईन कारोबार कात्तिक मसान्त देखि, बजार बढ्नेमा लगानीकर्ता ढुक्क

काठमाडौं, ५ कात्तिक । सेयर बजारको अनलाईन कारोबारका लागि सफ्टवेयर निर्माण गर्न गत वर्षको बैशाखमा नै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एक नीजि कम्पनीसँग सम्झौता गरेको थियो । सम्झौता गरेसँगै गत वर्षको कात्तिकबाटै अनलाईन कारोबार सुरु गर्ने योजना नेप्सेको थियो । तर त्यसको एक वर्षपछि पनि अझै अनलाईन कारोबार सुरु हुन सकेको छैन ।
पछिल्लो समय नेप्सेले कात्तिक मसान्त देखि अनलाईन कारोबार सुरु गर्ने जनाएको छ । हाल पुँजी बजारमा सेमी अटोमेटीक प्रणालीबाट सेयर कारोबार हुने गरेको छ। अनलाईन कारोबार संचालन भए पश्चात शहर केन्द्रित पुँजी बजारले मुलुकको ७७ वटै जिल्लाका ग्रामिण भेगका लगानीकर्तालाई पनि समेट्ने नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए ।
अहिले सफ्वेयर निर्माणको काम सकेर परिक्षणको काम भइरहेको छ । परिक्षणका क्रममा आएका समस्याहरुको प्रतिवेदन तयार पार्ने म्याद यसै महिना सम्म छ । सोही प्रतिवेदनका आधारमा आवश्यक समस्या सुल्झाएर पूर्ण कार्यान्वयनमा जाने उनले बताए ।
सफ्टवेयर निर्माणको काम सकिएपनि मर्जिन ट्रेडिङको कार्यविधि निर्माण भने अधुरै छ । त्यस्तै बैंक खाता र सेयर दलाल कार्यालयको खाता कसरी जोड्ने भन्नेमा पनि अन्यौलता रहेको लगानीकर्ताहरु बताउछन् । तर प्रतिक्षाको रुपमा रहेको अनलाईन कारोबार सुरु भएपछि मुलुकको सबै क्षेत्रमा कारोबारको पहुच त पुग्ने छ नै केही महिना यता ओरालो लागिरहेको सेयर बजारमा समेत सुधार आउने अपेक्षामा लगानीकर्ताहरु रहेका छन् ।