नवीकरण शुल्क नबुझाउने ४८ कम्पनीको कारोबार रोक्का

काठमाडौं, ०५ कार्तिक । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नवीकरण शुल्क नबुझाउने ४८ कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । असोज मसान्तसम्म बुझाइसक्नुपर्ने नवीकरण दस्तुर र बक्यौता नबुझाएको भन्दै नेप्सेले कारोबार रोक्का गरेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत जानकारी दिए ।
नवीकरण शुल्क र बक्यौता नबुझाउनेमा धेरैजसो जलविद्युत् कम्पनी, होटल, विकास बैंक र लघुवित्त कम्पनी रहेका छन् । नेप्सेमा सूचीकृत कम्पनीहरुले असोज मसान्तभित्र नवीकरण शुल्क र बक्यौता अनिवार्य रुपमा बुझाउनै पर्छ । नवीकरण शुल्क सूचीकृत कम्पनीको चुक्ता पुँजीका आधारमा निर्धारण गरिएको हुन्छ । धितोपत्र बजार सम्बन्धि नियमावलीले एक करोड रुपैँया चुक्ता पुँजी भएको कम्पनीले १५,००० रुपैँया नवीकरण शुल्क बुझाउनुपर्ने व्यवस्था गरेको छ ।
त्यस्तै एक करोड देखि पाँच करोड रुपैँया चुक्ता पुँजी हुने कम्पनीले २५,००० रुपैँया र पाँच करोडदेखि १० करोड रुपैँया चुक्ता पुँजी हुने कम्पनीले ३५,००० रुपैँया र १० करोड रुपैँया माथि चुक्ता पुँजी भएका कम्पनीले ५०,००० रुपैँया नवीकरण शुल्क बुझाउनुपर्ने व्यवस्था छ । आइतबार सेयर कारोबार रोक्का भएपछि यी मध्ये केही कम्पनीले भने चुक्ता पुँजी बुझाएका छन् । उनीहरुको सेयर कारोबार आज खुला हुने नेप्सेले जनाएको छ । अहिले नेप्सेमा १९८ कम्पनीको सेयर कारोबार हुँदै आएको छ । कारोबार निलम्बित भएका कम्पनीहरुले नवीकरण शुल्क बुझाएको भोलिपल्टबाट कारोबार खुल्ला हुने बताइएको छ । यसअघि पनि नेप्सेले नवीकरण शुल्क नबुझाउने कम्पनीहरुको कारोबार रोक्का गर्दै आएको छ ।