चीनले नेपाललाई २५ करोड सहयोग उपलब्ध गराउने
काठमाडौं, ११ कात्तिक । चीनले प्राकृतिक विपत्ति राहत उपकरण तथा मानवीय सहयोग स्वरुप नेपाललाई २५ करोड रुपैयाँ भन्दा बढीको सहयोग उपलब्ध गराउने भएको छ । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र चिनियाँ समकक्षी वेइ फेङहेले नेपाल–चीनबीचको सहायता सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
बेइजिङस्थित नेपाली राजदूताबासले शनिबार जारी गरेको विज्ञप्तीमा आगामी पाँच वर्षमा उक्त सहायता प्राप्त हुने जनाइएको छ । यसैगरी, मन्त्री पोखरेलले नेपालमा सैन्य विश्वविद्यालय स्थापनामा सहयोग गर्नअनुरोध गरेका थिए । चिनियाँ रक्षामन्त्रीले सकारात्मक रुपमा लिँदै दुवै देशका सेनाबीचको सहकार्य र साझेदारीमा जोड दिएको बताइएको छ ।
नेपालको अनुरोधप्रति सहमति जनाउँदै चीनले आपसी परामर्शमा सहयोगको विस्तृत विवरणलाई अन्तिम रुप दिइने प्रष्ट पारेको विज्ञप्तीमा जनाइएको छ । उपप्रधानमन्त्री पोखरेलले सैन्य प्रशिक्षण, मानवीय सहायता, विपद् व्यवस्थापन, चिकित्सा उपकरण, शान्ति सैन्य सञ्चालनलगायत पारस्परिक चासोका विषयमा छलफल भएको जानकारी दिए ।