Date

शुक्र, पुस २६, २०८१
Fri, January 10, 2025

मुलुकको सार्वभौम शाख मूल्यांकन हुने

मुलुकको सार्वभौम शाख मूल्यांकन हुने

काठमाडौं, २८ कात्तिक । विदेशी लगानीलाई लक्षित गर्दै सरकारले मुलुकको सार्वभौम शाख मूल्यांकन अघि बढाउने भएको छ । खासगरी बैंक तथा वित्तिय संस्थालाई विदेशी वित्तिय संस्थाबाट ऋण लिएर देशभित्र उत्पादनमूलक क्षेत्रमा लगानी खुला गरेपछि सार्वभौम शाख मूल्यांकन नभएसम्म ऋण ल्याउन कठिन हुने बताउँदै आएका थिए । उत्पादनमूलक क्षेत्रका परियोजनामा लगानी बढाउन स्वदेशी स्रोत अभाव भएकाले विदेशी ऋण समेत भित्र्याउने सरकारको योजना छ । तर यस्तो ऋण ल्याउन सरकार जमानीमा बस्नुपर्ने या शाख मूल्यांकन गराउने दुई विकल्प हुन्छन् । शाख मूल्यांकनले विदेशी लगानीकर्ता या ऋणदातालाई जोखिमको बारेमा प्रष्ट जानकारी हुन्छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वभौम शाख मूल्यांकनलाई प्राथमिकतामा राख्दै आएका छन् । सरकारले ख्यातिप्राप्त रेटिङ एजेन्सीको सहयोगमा सार्वभौम शाख मूल्यांकन गराउन दातृ निकायहरुसँग छलफल पनि अघि बढाइसकेको छ । अर्थमन्त्रालयका अनुसार, बेलायती अन्तर्राष्ट्रिय सहयोग नियोगसँग यसबारे छलफल भइरहेको छ । शाख मूल्यांकनले देशको अन्तर्राष्ट्रिय शाख अभिवृद्धि गर्न मद्दत पुर्याउने भन्दै निजी क्षेत्रले यसको प्रशंशा गरेको छ । ‘यसले बजारको प्रभावकारिता वृद्धि गरी कर्जा सापटी लिने र लगानीकर्ता दुवैको लागत घटाउँछ । खासगरी, यसले नेपालको अन्तर्राष्ट्रिय फ्रोफाइल सुधार गर्छ भने यसले सरकारी र निजी क्षेत्रको विश्व पुँजी बजारमा एउटा मानकको काम गर्नेछ भने प्रत्यक्ष वैदेशिक लगानी आकर्षण गर्न सहयोग गर्छ,’ स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका सीईओ जोसेफ सिल्भानुसले भने, ‘सार्वभौम साख मूल्यांकलने नेपालमा चालु आर्थिक र वित्तिय सुधारका पहललाई समर्थन गर्छ ।


यसका साथै यसले विश्व पुँजी बजारमा निरन्तर प्रवेश गर्ने नेपालको क्षमता पनि वृद्धि गर्छ र यसक्रममा विश्व पुँजी बजारमा सर्वोत्तम मूल्यमा रकम प्राप्तिका लागि पनि यसले सहयोग गर्छ । जसबाट प्राथमिक र द्वितिय बजारमा तरलताको अवस्थामा सुधार हुन्छ भने लगानीकर्ताको स्वीकार्यतामा व्यापक वृद्धि हुन्छ । उनका अनुसार सार्वभौम शाख मूल्यांकन र राष्ट्रिय अधिकतम सीमाले अन्तर्राष्ट्रिय बैंक र लगानीकर्ताहरुलाई नेपालमा गरिने लगानीको सीमा तोक्न पनि सजिलो हुन्छ ।

निजी क्षेत्रले पनि प्रत्यक्ष वैदेशिक लगानी नेपालका लागि महत्वपूर्ण स्रोत रहेको र यो सार्वभौम शाख मूल्यांकनसँग अन्तरसम्बन्धित रहेकाले यसलाई तत्काल अघि बढाउन सरकारसँग आग्रह गरेका छन् । रेटिङ राम्रो भएका देशहरुले साख मूल्यांकन नगराएका देशहरुको तुलनामा सस्तो, बहुल क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी प्राप्त गरेका छन् । त्यस्तै, शाख मापनमा राम्रो नतिजा प्राप्त भएमा यसले आन्तरिक पुँजी बजार विकास र आन्तरिक बचतलाई पनि बजारमा परिचालन गर्न सहयोग गर्छ ।

राम्रो नतिजा प्राप्त गर्न पारदर्शिता, अनुमानयोग्य कानूनी संरचना आवश्यक हुन्छन् । जसले ठूलो पुँजी आप्रवाहलाई सघाउँछ । नेपालमा वित्तिय क्षेत्रको बाक्लो उपस्थिति र विशिष्टीकृत वित्तिय संस्थाहरु–जलविद्युत् लगानी तथा विकास कम्पनी, पूर्वाधार विकास बैंकले खास क्षेत्रको कर्जा आवश्यकता पूरा गर्ने र उक्त क्षेत्रलाई सशक्त बनाउँदै लगेका छन् । यी क्षेत्रको लगानीको आवश्यकता पूरा गर्न विश्व पुँजी बजारबाट ऋण लिन र निजी क्षेत्र समेतको स्वपुँजीले नेपालको विकास आवश्यकता पुरा गर्न मद्दत पुग्ने अर्थमन्त्रालयले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x