आफुखुसी विकास निर्माणको काम गरे कारबाही गर्ने काठमाडौं महानगरपालिकाको चेतावनी
काठमाडौं, १४ मंसिर । काठमाडौं महानगरपालिकाले महानगरभित्र हुने विकास निर्माणको काममा समन्वय नगरि आफुखुसी काम गरे कारवाहीको चेतावनी दिएको छ । सरकारका विभिन्न निकायले काठमाडौं महानगरपालिका भित्र आफूखुशी सडक तथा फुटपाथ भत्काउने गरेको भन्दै महानगरपालिकाले यस्तो चेतावनी दिएको हो ।
पटक–पटक लिखित तथा मौखिक अनुरोध गर्दा समेत यस्तो कार्य नरोकिएको भन्दै महानगरपालिकाले बिहिबार एक विज्ञप्ती जारी गरि आगामी दिनमा पनि यसलाई जारी राखे कानून बमोजिम कारबाही गर्ने जनाएको छ । आफुखुसी सडक तथा फुटपाथ भत्काउने तर लामो समय सम्म मर्मत सम्भार नगर्ने कार्यले महानगरपालिकाले सञ्चालन गरिरहेको ‘क्लिन द सिटि’ अभियान तथा जनस्वास्थ्यमा गम्भिर असर परेको बताएको छ ।
त्यस्तै आगामी दिनमा महानगर क्षेत्रभित्र विकास निर्माण कार्यक्रम, आयोजना सञ्चालन गर्दा महानगरपालिकासँग समन्वय गर्न पनि विज्ञप्ती मार्फत अनुरोध गरेको छ । सो बमोजिम समन्वय नगरिएमा महानगरवासीको हितलाई ध्यानमा राखी आवश्यक कारवाही गर्न महानगरपालिका बाध्य हुने सबैमा जानकारी गराउँदछौँ’, विज्ञप्तीमा उल्लेख गरिएको छ ।
महानगर क्षेत्रभित्र भवन निर्माण गर्दा सार्वजनिक सडक, सडक किनारा र सार्वजनिक स्थलमा निर्माण सामाग्री थुपार्ने र सार्वजनिक आवागमन तथा सार्वजनिक प्रयोगलाई बाधा पार्ने कार्य नगर्न, नगराउन महानगरपालिकाले सबैमा अनुरोध गरेको छ ।