बैंकको ब्याजदर र सेयर बजारबारे अध्ययन गर्न गठित समितिले आइतबार प्रतिवेदन बुझाउदै
काठमाडौं, २७ मंसिर । बैंकको ब्याजदर बृद्धि, सेयर बजारमा देखिएको गिरावट र त्यसले पार्ने असरबारे अध्ययन गर्न गठित कार्यदलले प्रतिवेदन अर्थमन्त्री डा. अर्थमन्त्री युवराज खतिवडालाई आइतबार बुझाउने तयारी गरेको छ ।
सरकारले राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा मुद्रा र पुँजी बजारको अध्ययन तथा समस्या समाधानको उपायको खोजी गर्न सात दिनको समयसिमा सहित उच्चस्तरीय कार्यदल बनाएको छन् । कार्यदलमा धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की, बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल र अर्थमन्त्रालयका सहसचिव उत्तरकुमार खत्री रहेका छन्।
समितिले यस क्षेत्रका सम्बन्धित व्यक्तिहरुसँग आवश्यक परामर्श गरिरहेको छ। आज अर्थमन्त्रालयका आर्थिक सल्लाहकार डा. रामशरण खरेलले पनि समितिलाई आफ्नो सुझाव दिए । प्रतिवेदनमा सेयर बजारलाई दीर्घकालीन रुपमा व्यवस्थित र दिगो बनाउन आवश्यक नीतिगत व्यवस्था तथा ब्याजदर नियन्त्रणका उपायहरू समावेश गरिनेछ । साथै प्रतिवेदनले कर्जा, निक्षेप तथा पुँजी अनुपात घटाउन र पुर्नकर्जा बढाउन सुझाव दिने बुझिएको छ ।