एनआईसी बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं, ४ पुस । एनआई सीएशिया बैंकले आफ्नो २१ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभाले आर्थिक वर्ष २०७४/०७५ को सञ्चालक समितिको वार्षिक प्रतिबेदन पारित गर्नुको साथै लेखापरिक्षण प्रतिवेदन सहित २०७५ आषाढको वासलात र आर्थिक बर्ष २०७४/०७५ को नाफा–नोक्सान हिसाब तथा नगदप्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु स्वीकृत गरेको छ । साथै साधारण सभाले बैंकको सहायक कम्पनी एनआई सी एशिया लघुवित्त वित्तीय संस्था लि. र एनआई सी एशिया क्यापिटल लि. सहितको गत बर्षको एकिकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ । सभाले चालु आर्थिक वर्षको लागि टि. आर. उपाध्याय एण्ड कम्पनीलाई बाह्य लेखापरिक्षकमा नियुक्त गरेको छ ।
साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १०% का दरले ८० करोड ३१ लाख ११ हजार ७ सय रुपैयाँ बोनस शेयर वितरण गर्न र सोमा लाग्ने कर प्रयोजनको लागि ०.५२६% अर्थात ४ करोड २२ लाख ६९ हजार ३७ रुपैयाँ नगद लाभांस वितरण गर्ने निर्णय गरेको छ । उक्त बमोजिमको बोनस शेयर वितरणबाट बैंकको साविक अधिकृत पूँजी ८ अर्ब ४ करोड रुपैयाँलाई वृद्धि गरि ८ अर्ब ८४ रुपैयाँ बनाउन, साविक तत्काल चुक्तापूँजी ८ अर्ब ३ करोड ११ लाख १६ हजार ९ सय ९८ रुपैयाँलाई वृद्धि गरी ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार ६ सय ९८ रुपैयाँ बनाउन स्वीकृत प्रदान गरेको छ ।
बैंकले हाल सम्म मुलुकभर २७० शाखाकार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार २ सय ११ अर्ब रुपैयाँ भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब १ सय ६९ अर्ब रुपैयाँ पुगेको छ ।