धान उत्पादनमा नयाँ रेकर्ड, आवश्यकता अनुसार भने अझै अपुग
काठमाडौं, १२ पुस । चालु आर्थिक वर्ष २०७५÷०७६ मा धान उत्पादनमा नयाँ रेकर्ड कायम भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा ५६ लाख १० हजार ११ मेट्रिक टन धान उत्पादन भएको छ । यो उत्पादन गत आर्थिक वर्षको तुलनामा ८.८९ प्रतिशतले बढी हो । गत वर्ष करिब ५२ लाख मेट्रिक टन धान उत्पादन भएको थियो ।
मौसम प्रतिकुल हुनुका साथै मलखादको राम्रो व्यवस्थापन भएको कारण धान उत्पादनमा बृद्धि भएको बताइएको छ । मन्त्रालयका अनुसार चालु वर्षमा धान खेती पनि बढी जमिनमा भएको छ । गत वर्षको तुलनामा यो वर्ष १.५ प्रतिशतले बढी क्षेत्रमा धान खेती भएको छ । गत वर्ष देशभर १४ लाख ६९ हजार ५४५ हेक्टरमा धान खेती भएको थियो भने यो वर्ष बढेर १४ लाख ९१ हजार ७४४ हेक्टरमा भएको छ । यसैगरि अघिल्लो वर्षको तुलनामा धानको उत्पादकत्वमा पनि सुधार आएको देखिएको छ । प्रति हेक्टर उत्पादकत्व ७.२७ प्रतिशतले बढेको मन्त्रालयले जनाएको छ ।
कुन प्रदेशमा कति उत्पादन ?
प्रदेशगत हिसाबले सबैभन्दा धेरै प्रदेश २ मा धान उत्पादन भएको छ । सो प्रदेशमा १४ लाख ९५ हजार ४४ मेट्रिक टन धान उत्पादन भएको छ । त्यस्तै प्रदेश १ मा १२ लाख ३७ हजार ९ सय ५२, प्रदेश ५ मा ११ लाख ८८ हजार ६ सय ७५ मेट्रिक टन र सुदूरपश्चिम प्रदेशमा ६ लाख ५ हजार ६ सय २६ मेट्रिक टन धान उत्पादन भएको छ । प्रदेश ३ मा ५ लाख २१ हजार ४ सय ४६, गण्डकी प्रदेशमा ४ लाख २७ हजार ६ सय ८९ र कर्णालीमा १ लाख ३३ हजार ५ सय ७९ मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयले जनाएको छ।
अझै अपुग ।
नेपालको जनसंख्या वृद्धिदरलाई हेर्ने हो भने बार्षिक करिब ५९ लाख मेट्रिक टन धानको आवश्यकता पर्ने देखिन्छ यो वर्षको उत्पादनलाई हेर्दा पनि नेपालीहरुको आवश्यकता अनुसार अझै करिब ४ लाख टन धान अपुग हो । मुख्य नगदेबाली धानमा मुलुक आत्मा निर्भर हुन नसक्दा बर्षेनी नेपालमा करिब २० अर्ब रुपैयाँ भन्दा बढीको चामल आयात हुने गर्दछ । धानको उत्पादनमा वृद्धिसंगै मुलुकको आर्थिक बृद्धिमा पनि प्रभाव पार्ने हुन्छ ।
देशको कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योग्दान ३३ प्रतिशत रहने गरेको छ। कृषिमा धानको योग्दान सबैभन्दा बढी २१ प्रतिशत योग्दान रहने गरेको छ। मुलुकको कुल ग्राहस्थ उत्पादनमा धानको योगदान अनुसार सरकारले धान उत्पादन बृद्धिका लागि योजना तथा कार्यक्रमहरु नल्याएको धान विज्ञहरुको भनाई छ । नेपालमा वर्षे धान भन्दा चैते धानको सम्भावना र उत्पादकत्व पनि करिब २५ प्रतिशत बढी हुने हुँदा सरकारले चैते धानमा जोड दिनु पर्ने धान विज्ञ भोलामान सिंहको भनाई छ ।।
नेपालमा कुल करिब १४ लाख हेक्टर जमिनमा धान खेति हुने गरेको छ । जसमा ७० प्रतिशत तराई तथा भित्री मधेसमा धान खेति हुन्छ । उत्पादकत्वको धेरै सम्भावना बोकेको चैते धान पनि तराई तथा भित्री मधेशमा नै उत्पादन हुनेगर्दछ । धान खेतिको लागि मुलरुपमा प्र¥याप्त सिँचाइ र घामको आवश्यकता पर्ने हुँदा चैत धानको समयानुकल उत्पादकत्व पनि बढी हुन गएको हो । तर चैते धान बर्षातको समयमा बाली भित्र्याउने समय पर्ने हुँदा कृषकहरु भने त्यस तर्फ त्यति आकर्षित देखिदैनन धान विज्ञ सिंहले भने । हाल कुल धान खेतीको बार्षिक ७ प्रतिशतमा मात्र चैते धान खेती हुन्छ । तराई क्षेत्रका कुल धान योग्न जमिन मध्ये १ लाख २० हजार हेक्टरमा मात्र चैते धान खेती हुने गरेको छ ।