सामाजिक सुरक्षा योजना कार्यान्वयनले मुलुकमा आर्थिक सम्बृद्धि हाँसिल हुन्छ : मन्त्री विष्ट
 
			काठमाडौं १३ पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा योजनाको प्रभाकारी कार्यान्वयनबाट मुलुकले आर्थिक समृद्घि हाँसिल गर्न सकिने बताएका छन् । मुलुकमा सञ्चालित उद्योगहरुको रुपान्तरणका लागि त्यहा कार्यरत श्रमिकहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनुपर्नेमा जोड दिंदै उनले हरेक क्षेत्रमा काम गर्ने श्रमिकदेखि घरमा काम गर्ने श्रमिकलाई समेत सामाजिक सुरक्षाको दायरामा ल्याउन सरकार प्रतिवद्घ रहेको बताए ।
घरेलु तथा साना उद्योग महासंघ र होमनेट नेपालले राजधानीमा आयोजना गरेको ‘अनौपचारीक क्षेत्रका श्रमिक, गरिबहरुको सामाजिक तथा आर्थिक सुरक्षाको लागि उपलब्ध नीतिहरुको कार्यान्वयन’ विषयक कार्यशाला गोष्ठीमा मन्त्री बिष्टले समान कामका लागि समान ज्याला पाउनुपर्ने मान्यतालाई प्रभावकारी कार्यान्वयन गर्न पनि सरकार प्रतिबद्ध रहेको बताए । साथै सरकारले हरेक क्षेत्रमा काम गर्ने श्रमिकको आधारभूत आवश्यकता परिपूर्ति गर्न सहयोग गर्ने गरी न्यूनतम बेतन तोकेको उनको भनाइ छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले सामाजिक सुरक्षामा लगानी गर्ने मुलुकहरुले आर्थिक समृद्घि हासिल गरेका उदाहरण प्रशस्तै रहेको भन्दै सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाटै आर्थिक समृद्घि हासिल गर्न सकिने बताए । उद्योगहरुको उत्पादनमा लाग्ने लागत घटाउन र उत्पादकत्वमा बृद्घि गर्ने कुरा सामाजिक सुरक्षाको कार्यान्वयनमा निर्भर गर्ने नीजि क्षेत्रले सामाजिक सुरक्षामा हात हालिसकेको हुँदा अब मुलुकको समृद्घि सम्भव भएको उनको भनाई छ ।
घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष सूर्य कँडेलले ढिलै भएपनि मुलुकमा सामाजिक सुरक्षाको ठोस कार्यक्रम आएको भन्द राज्यले आर्थिक क्रान्तिको कुरा गरिरहेको अवस्थामा आर्थिक क्रान्तिको लागि घरेलु तथा साना उद्योग व्यवसायको प्रवद्र्घन गर्न उनले सरकारलाई आग्रह गरे । उद्योग, श्रम, स्थानीय निकायका प्रतिनिधि तथा सरोकारवाला निकायबाट झण्डै डेढ सय जनाको सहभागिता रहेको कार्यक्रममा अनौपचारीक क्षेत्रका श्रमिक, गरिबहरुको सामाजिक तथा आर्थिक सुरक्षाको लागि उपलब्ध नीतिहरुको कार्यान्वयनका विषयमा सम्बन्धित विज्ञहरुबाट कार्यपत्र प्रस्तुत गरिएको थियो ।




 
                         
                        