टूर एन्ड ट्राभल व्यवसायीहरुको छाता संगठन नाट्टामा चुनावी चहलपहल
काठमाडौं, १८ मंसिर । नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) मा नयाँ नेतृत्व चयनका लागि आँउदो जनवरी पहिलो साता साधारण सभा एवं निर्वाचन हुने भएको छ । नाट्टा सचिवालयले सो समयमा साधारण सभा गर्ने गरि आवश्यक तयारी थालनी गरेको जनाएको छ ।
सोही अनुसार नाट्टामा नयाँ नेतृत्व चयनको विषयलाई लिएर पर्यटन क्षेत्रमा बहस हुन थालेको छ । अहिले सम्म अध्यक्षका लागि वर्तमान प्रथम उपाध्यक्ष सिएन पाण्डे, द्वितिय उपाध्यक्ष दिपेन्द्र शर्मा घिमिरे, पूर्वमहासचिव अच्यूत गुरागाई, पूर्वकोषाध्यक्ष नारायण प्रसाद गुरुङ (कोने) सहित चार जनाले दाबेदारी प्रस्तुत गरेका छन् ।
पाण्डेलाई बाम गठबन्धन र गुरागाईलाई लोकतान्त्रिक व्यवसायीहरुले अध्यक्षमा समर्थन गर्ने बुझिएको छ । यता शर्मा र कोने भने पछिल्लो समय नाट्टामा चरम राजनीतिकरण भएको भन्दै त्यसको अन्तका लागि स्वतन्त्र व्यवसायीको प्रतिनिधित्व गर्दै अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् ।