प्रधानमन्त्रीले संसदमा प्रस्तुत गरेका सबै तथ्यांक सही छन् – अर्थ मन्त्रालय
काठमाडौ,२४ पुस । संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको तथ्याङकलाई लिएर चर्को आलोचना र अविश्रवास भएपछि अर्थमन्त्रालयले प्रधानमन्त्रीले सदनमा प्रस्तुत गरेको तथ्याङक सही भएको दावि गरेको छ । मन्त्रालयले एक विज्ञाप्ति जारि गर्दै प्रधानमन्त्रील संसदमा प्रस्तुत गरेको तथ्याङ्क केन्द्रिय बैंको तथ्याङक अनुशर रहेको भन्दै बैंकले सार्वजनिक गरेको आकडा विज्ञाप्तिमा उल्लेख गरेको छ । विज्ञाप्तिमा केन्द्रीय बैंकको तथ्यांक अनुसार चालु आर्थिक बर्षको पहिलो ५ महिनामा मुल्य वृद्धिदर ३ दशमलवव ७ प्रतिशतमा झरेको उल्लेख गरिएको छ । यस्तै, राजश्व वृद्धिदर ३२ प्रतिशत रहेको जनाइएको छ । चालू खर्चमा गरिएको मितव्ययीता र अघिल्लो बर्षको यसै अवधीमा भएको निर्वाचन खर्चका कारण तुलनात्मक रुपमा कुल खर्च वृद्धिदर भने कम भएको मन्त्रालयले जनाएको छ । महालेखा नियन्त्रक कार्यालयको मंसिरसम्मको तथ्यांक अनुसार कुल खर्च ७ प्रतिशतले बढेको छ । आर्थिक तथा औद्योगिक क्रियाकलाप बढेकाले बैदेशिक रोजगारीमा जानेको संख्या चालू आर्थिक बर्षको पहिलो ४ महिनामा ४१ दशमलव २ प्रतिशतले घटेपनि विप्रेषण आयमा भने ३६ प्रतिशतले वृद्धि भएको मन्त्रालयले उल्लेख गरेको छ । प्रशासनिक नियमन तथा बैकिङ्ग च्यानलको बढ्दो प्रयोगले पनि विप्रेषण आप्रवाह बढेको अर्थ मन्त्रालयले जनाएको छ ।
यस्तो थियो प्रधानमन्त्रीले संसदमा प्रस्तुत गरेको तथ्याङक
गत आर्थिक वर्षको पहिलो ५ महिनाको तुलनामा यस आर्थिक वर्षको राजस्व संकलनमा ३२ प्रतिशत वृद्धि भएको छ । चालू आर्थिक वर्षको ५ महिनामा पूँजीगत खर्चको वृद्धिदर २५.३३ प्रतिशत रहेको छ । सरकारी खर्च ३४ प्रतिशतबाट १४ प्रतिशतमा झरेको छ । गतबर्षको तुलनामा मूल्य बृद्धि घटेको छ । गतबर्षको मूल्य बृद्धि ४.२ प्रतिशत थियो, यस बर्ष ३.७ प्रतिशत मात्र छ । हालसम्म आन्तरिक ऋण परिचालन गर्नु परेको छैन । गत आर्थिक वर्षको यही अवधिमा १०८ अर्ब ८४ करोड रुपैंया आन्तरिक ऋण परिचालन गरिएको थियो। कूल वैदेशिक सहायता, गत वर्षको तुलनामा १६२.७२ प्रतिशले वृद्धि भएको छ । अनुदान र ऋण सहायता गरी ११२ अर्ब १३ करोड रुपैंया वैदेशिक सहायता प्रतिवद्धता प्राप्त भएको छ ।गत आर्थिक बर्षको यसै अबधिको १२ प्रतिशतको तुलनामा उद्योग÷व्यवसायसँग सम्बन्धित कम्पनी दर्ता २५ प्रतिशतले बृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा रहेको कुल निक्षेप १७.९ प्रतिशत ले बृद्धि भएको छ। बैंकको क्षेत्रगत लगानी २४.६ प्रतिशत ले बृद्धि भएको छ । उत्पादनशील क्षेत्रमा बैंकको लगानी १३.४ बाट ३२.३ प्रतिशत पुगेको छ । बैदेशिक लगानीका परियोजना संख्यामा २५ प्रतिशतले वृद्धि भएको छ ।
यसवर्ष आर्थिक वृद्धिदर ८ प्रतिशतको हाराहारीमा हुने अनुमान गरिएको छ ।अन्तर्राष्ट्रिय मुद्रा कोषले समेत यो बर्ष नेपालले ६.५ प्रतिशत भन्दा बढी आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण गरेको छ । अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुबाट नेपालमा ५ प्रतिशत भन्दा बढि आर्थिक बृद्धिको अनुमान गरेको इतिहासमै यो पहिलो पटक हो ।
निर्याततर्फ यस अवधिमा नेपालको कूल निकासी १२.३ प्रतिशतले वृद्धि भएको छ ।भारत तर्फको निकासीमा २०.५ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धि सन् २००६÷०७ यताको सबैभन्दा उच्च हो । संयुक्त राज्य अमेरिका तर्फको निर्यातमा २६.६ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धि सन् २०१४÷१५ यताको सबैभन्दा उच्च वृद्धि हो । जर्मनी तर्फको निकासीमा ८.७ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धि सन् २०१४÷१५ यताको सबैभन्दा उच्च वृद्धि हो ।संयुक्त अधिराज्य तर्फको निर्यातमा पनि २.२ प्रतिशतले वृद्धि भएको छ ।टर्की सरकारले नेपालबाट निर्यात हुने सिन्थेटिक धागोको आयातमा लगाएको अतिरिक्त भन्सार महशुल र एन्टि डम्पिङ् महशुल हटाएको छ । यसबाट रू. ८ अर्ब वरावरको नेपाली धागोको सबैभन्दा ठूलो निर्यात बजार सुरक्षित भएको छ ।निर्यातलाई प्रोत्साहन गर्न १५ वस्तुहरूमा ५ प्रतिशत र ११ वस्तुहरूमा ३ प्रतिशत निर्यात अनुदान दिने निर्णय गरिएको छ ।औद्योगिक वस्तु र निर्माण सामग्रीको आयातमा ४०.६ प्रतिशतले वृद्धि भएकोले शोधानान्तर बचतमा केही कमी आएको छ ।