Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

पहाडी क्षेत्रका सेजमा उद्योग खोल्नेलाई १० वर्षसम्म आयकरमा छुट

पहाडी क्षेत्रका सेजमा उद्योग खोल्नेलाई १० वर्षसम्म आयकरमा  छुट

काठमाडौँ, १३ माघ,  – अब पहाडी जिल्लामा रहेको विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगले कारोवार शुरु गरेको १० वर्षसम्म लाग्ने आयकरमा शतप्रतिशत छुट पाउने छन् । सरकारले सङ्घीय संसद्मा पेश गरेको विशेष आर्थिक क्षेत्र ऐन, २०७३ लाई संशोधन गर्ने बनेको विधेयक पारित भएपछि सरकारले तोकेका पहाडी क्षेत्रमा उद्योग संचालन गर्नेहरुले यो सुविधा पाउनेछन् । यस्तै त्यस्ता उद्योगहरुले १० बर्ष पछि आय वर्षमा लाग्ने आयकरमा ५० प्रतिशत छुट दिने व्यवस्था छ ।

औद्योगिक वातावरण बनाउने लक्ष्यका साथ अघि सारिएको उक्त विधेयकले सरकारले विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगले वितरण गरेको लाभांशमा लाग्ने करको कारोवार शुरु गरेको मितिले पाँच वर्षसम्म शतप्रतिशत र त्यसपछिको तीन वर्षमा ५० प्रतिशत छुट पाउने प्रावधान राखेको छ । विदेशी लगानीकर्ताले विदेशी प्रविधि वा व्यवस्थापन सेवा शुल्क तथा रोयल्टीबाट आर्जन गरेको आयमा लाग्ने आयकरमा समेत ५० प्रतिशत छुट दिने व्यवस्था विधेयकले गरेको छ ।  

संशोधन हुन लागेको ऐनमा निकासी गर्ने वा परिवत्र्य मुद्रामा स्वदेशमा नै बिक्री गर्ने भएमा त्यस्तो मालवस्तु उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थ तथा सहायक कच्चा पदार्थ पैठारी गर्दा लाग्ने भन्सार महसुल र अन्य महसुल बैंक जमानत लिइ पैठारी गर्नसक्ने प्रावधान राखिएको छ । उद्योग स्थापनाका लागि सहजीकरण गर्न उद्योगको दर्ता, उद्योग प्रशासनसम्बन्धी काम, विदेशी लगानी स्वीकृति प्रदान गर्ने, कम्पनी दर्ता, छुट सुविधा वा सहुलियत प्रदान गर्ने कार्य, आन्तरिक राजश्व विभागसँग जोडिएका काम, उत्पत्तिको प्रमाणपत्र जारी गर्ने, राहदानी र श्रम स्वीकृतिसम्बन्धी काम गर्न एकद्वार प्रणाली लागू गरिने ऐनमा ब्यवस्था छ ।  

विशेष आर्थिक क्षेत्र (सेज) मा स्थापना हुने उद्योगले आफूले उत्पादन गरेको उत्पादनको कम्तीमा पनि ६० प्रतिशत वस्तु वा सेवा निर्यात गर्नुपर्ने व्यवस्था गरेको छ । सरकारले सङ्घीय संसद्मा पेश गरेको विशेष आर्थिक क्षेत्र ऐन, २०७३ लाई संशोधन गर्ने बनेको विधेयकमा व्यापार घाटा कम गर्ने लक्ष्यका साथ निर्यातलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x