महालक्ष्मी लाईफ इन्स्योरेन्स माघ २७ देखि सञ्चालनमा आउने
काठमाडौ, २४ माघ । बीमा बजारमा सबै भन्दा कान्छो जीवन बीमा कम्पनीको रुपमा महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी संचालनमा आउने भएको छ । बीमा बजारमा १९ औं जीवन बीमाको रुपमा माघ २७ गते देखी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी बिधिगत रुपमा संचालनमा आउने भएको हो ।
कम्पनीले बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरि कम्पनी संचालन संगै कम्पनीले ल्याउने सेवा सुविधा तथा नया बीमा योजनाहरुको बारेमा जानकारी गराएको छ । कम्पनीले बीमा समितिबाट स्वीकृती लिए अनुसार महालक्ष्मी डबल सावधिक बीमा, लगानी फिर्ता म्यादी बीमा तथा महालक्ष्मी सावधिक बीमा गरि ३ प्रकारको बीमा योजना बिक्री गर्ने कम्पनीले जनाएको छ ।
बीमा समितिबाट मुलुक भर शाखा संचालनको अनुमाति पाएको कम्पनीले काठमाडौं, बीरगन्ज, पोखरा तथा बुटवल शाखा माघ २७ गते देखी नै उद्घाटन गरि संचालन गर्ने र इटहरी, सुर्खेत, धनगढी र कोहलपुरबाट फागुनको दोस्रो साताबाट कार्यलय उद्घाटन गरि कारोबार संचालन गरिने जनाएको छ ।
कम्पनीको जारी पूँजी २ अर्ब रुपैयाँ छ । हाल संस्थापक शेयरधनीको एक अर्ब ४० करोड र दुई आर्थिक बर्ष पुरा गरेपछि कम्पनीले ६० करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने योजना रहेको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा रमेशकुमार भट्टराई नियुक्त भइसकेका छन् । कम्पनीको केन्द्रीय कार्यालय कमलपोखरीमा रहने छ । कम्पनीले आगामी चैतसम्म १३ वटा शाखा कार्यालय सञ्चालनमा ल्याउने तयारीसमेत गरिसकेको छ । आगामी असारसम्म अर्को १२ वटा शाखा थपेर २५ वटा पुर्याउने तयारी भइरहेको जानकारी कम्पनीले दिएको छ ।