दोस्रो साना किसान सम्मेलन फागुन १६ देखि
काठमाडौं १३, फागुन । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजानमा यही फागुन १६ र १७ गते काठमाडौंमा दोस्रो साना किसान सम्मेलन हुने भएको छ । ‘साना किसानको समृृद्धि ः कृषिको रुपान्तरण र उद्यमशीलताको विकास’ भन्ने मूल नाराका सहित आयोजना गर्न लागिएको सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने जनाइएको छ ।
सम्मेलनमा देशभरका करिब १ हजार साना किसान प्रतिनिधि एवं विभिन्न क्षेत्रका राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञ, अन्वेषक, अध्येता, अभ्यासकर्ता, विद्यार्थी, योजनाविद तथा नीति निर्माता गरी कुल १२ सय जनाको सहभागिता रहने जनाइएको छ । साना किसानहरुमा उद्यमशीलता विकास गराई कृषि सहकारी मार्फत कृषि क्षेत्रको रुपान्तरण गर्ने अभियानमा सघाउ पुगोस भन्ने उद्धेश्यले सम्मेलन आयोजना गरिएको बताइएको छ ।
गरिबी निवारण, खाद्य सुरक्षा, भोकमरीको अन्त्य, उत्पादन विकास, रोजगारी सिर्जना तथा पर्यावरण संरक्षणबारे सम्मेलनमा १४ सत्रमा २८ वटा कार्यपत्र प्रस्तुत हुने छ । प्रत्येक ४ वर्षमा आयोजना गरिने यस सम्मेलनको पहिलो श्रृङखला २०७१ सालमा सम्पन्न भएको थियो । संस्थाले हाल ७० जिल्लामा ९ सय सानाकिसान कृषि सहकारी संस्थाहरुको स्थापना गरी ८ लाखविपन्नतथा सानाकिसान परिवारलाई सेवा प्रदान गर्दै आएको छ