धितोपत्र सम्बन्धी ऐन, २०६३ को संशोधन प्रक्रिया अगाडि बढेको बोर्डद्वारा जानकारी

काठमाडौं,१५ फागुन । नेपाल धितोपत्र बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ को संशोधन प्रक्रिया अगाडि बढाएको बताएको छ । धितोपत्र दलाल व्यवसायीहरुले धितोपत्र बोर्डका विरुद्ध संघर्षका कार्यक्रम सार्वजानिक गर्ने चेतावनी दिएपछि बोर्डले विज्ञप्ति निकालेर धितोपत्र सम्बन्धी ऐन, २०६३ को संशोधन प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको हो ।
साथै बोर्डले सरकारद्वारा गठित मुद्रा तथा पूँजी बजार सम्वन्धी कार्यदलको सुझाव अनुसार सरकार र बोर्ड समस्या समाधान गरी बजारको सुधार गर्ने क्रममा रहेको उल्लेख छ । विगत केही वर्षदेखि धितोपत्र दलाल व्यवसायी सेवालाई मूल्य अभिवृद्धि करमा आवद्घ गर्ने सम्बन्धमा समस्या रहेकोमा बोर्डको पहलमा सरकारले धितोपत्र दलाल व्यवसायलाई मूल्य अभिवृद्धि कर नलाग्ने व्यवस्था गरेको जनाएको छ ।
यसैगरी मार्जिन कारोवार सुविधा उपलब्ध गराउने कार्य कार्यान्वयनमा ल्याउन नेप्से र धितोपत्र दलाल व्यवसायीहरुलाई निर्देशन दिइएकोमा उक्त कार्यान्वयनमा आउन लागेको पनि उल्लेख गरेको छ । धितोपत्र दलाल व्यवसायी संस्थालाई सुदृढ गर्दै काठमाडौं उपत्यका बाहिर ४१ स्थानमा शाखा खोल्न स्वीकृत दिइएको र आठ ठाँउमा शाखा खोल्न पूर्व स्वीकृति दिइएको विज्ञप्तिमा उल्लेख छ । साथै बोर्डले व्यवसायीलाई आफ्नो व्यवसायिक मर्यादा कायम राखी पूँजी बजारको विकास र विस्तारमा सहयोग गर्न बोर्डले आग्रह गरेको छ ।