मृतकको शव पोष्टमार्टमको लागि समय लाग्ने, श्रद्धाञ्जली सभा भोलिका लागि सारियो

काठमाडौं, १६ फागुन । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन मन्त्री रवीन्द्र अधिकारी सहित सातैजनाको शव परीक्षणका लागि समय लाग्ने भएपछि आज टुँडिखेलमा हुने भनिएको श्रद्धाञ्जली कार्यक्रम भोलिका लागि सारिएको छ ।

सेनाको हेलिकप्टर मार्फत आजै काठमाडौं ल्याइएका शवको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमको काम सुरू भएको छ। तर सबै शव पोष्टमार्टम गर्न १० देखि १५ घण्टा लाग्ने भएकाले आजका लागि निर्धारित कार्यक्रम भोलीका लागि सारिएको हो । भोली ८ वजे देखि ११ बजे सम्म श्रद्धाञ्जली कार्यक्रम हुने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् ।

ताप्लेजुङको दाह्रेभीरमा बुधबार दिउँसो भएको हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीसहित पर्यटन व्यवसायी तथा यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, पाइलट प्रभाकर केसी र सुरक्षाकर्मी अर्जुन घिमिरेको निधन भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *