कमिसनको चक्करले उपभोक्तालाई सास्ती, बजारमा ग्यासको अभाव
काठमाडौं २१ फागुन । ग्यासको कमिसन बढाउनुपर्ने माग राख्दै नेपाल ग्यास बिक्रेता सङ्घ र नेपाल एलपी ग्यास उद्योग संघ विरोधमा उत्रिएपछि बजारमा ग्यासको अभाव देखिएको छ । बजारमा अभाव देखिएपछि निगमले मागअनुसार खाना पकाउने ग्यासको आयात भइरहेकाले अनावश्यक भण्डारण नगर्न तथा गलत हल्लाको पछाडि नलाग्न उपभोक्तालाई आग्रह गरेको छ । इण्डियाका बाट ग्यास खाना पकाउने ग्यास लोडिङ भइरहेको र आयात पनि निरन्तररूपमा भइरहेको उल्लेख गर्दै निगमले बजारमा कुनै पनि अभाव नरहेको जनाएको हो ।
यता ग्यास उद्योग संघले फागुन १७ गतेदेखि ग्यासको पीडीओ बुझेका छैनन् । फागुन २२ गतेदेखि एलपी ग्यासको लोडिङ बन्द गर्ने, फागुन २५ गतेदेखि भन्सार आयात रोक्ने, फागुन २८ देखि उद्योगहरु समेत बन्द गर्ने र ३० गतेदेखी सम्पूर्ण ग्यास विक्रेताहरुबाट ग्यास विक्री वितरण पूर्ण रुपमा बन्द गर्ने संघले चेतावनी दिएको थियो । जसले गर्दा उपभोक्ता भण्डारमा लागेका कारण ग्यासको अभाव देखिन लागेको हो ।
निगमले उद्योगी–व्यवसायीको माग सम्बोधन गर्न आफूहरू प्रयासरत रहेको भन्दै अत्यावश्यक विषयको संवेदनशीलतालाई ख्याल गर्न उद्योगी–व्यवसायीको समेत ध्यानाकर्षण गराएको छ ।दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयका सम्बन्धमा देखिएको समस्या समाधानका लागि वार्ता र संवाद नै उपयुक्त विकल्प भएकामा निगमको जोड छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार हालसम्म उद्योगीसँग आठ हजार मेट्रिक टन भारतबाट ग्यास ल्याउने कागजात (पीडीओ) रहेको छ । उक्त कागजातबाट ग्यास ल्याउने कार्य नियमित रहेको छ ।