१५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको राष्ट्रपति भण्डारीद्वारा उद्घाटन
काठमाडौं, २४ फागुन । राजधानीको भृकुटीमण्डपमा जारी १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गरिएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा सुरु भएको मेलाको आज एक विशेष कार्यक्रमका बीच राष्ट्रपति भण्डारीले उद्घाटन गरेकी हुन ।
उद्घाटन समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका प्रसाद यादवले लघु, घरेलु तथा साना उद्योगहरूको मुलुकको आर्थिक समृद्धिका लागि ठूलो योगदान रहेको बताए । समृद्धिको मुख्य आधार नै साना उद्योग भएको भन्दै उनले मुलुकमा उद्योग धन्दा सञ्चालन र विकासको वातावरण बनाउनेतर्फ सरकार केन्द्रित रहने बताए ।
त्यस्तै महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले मुलुकभर छरिएर रहेका लघु, घरेलु तथा साना उद्योगको उत्पादनको बजार प्रवद्र्धन गर्ने उद्देश्यका साथ २०५८ सालबाट मेला आयोजना गरिरहेको जानकारी दिए ।
पाँच दिनसम्म चल्ने मेलामा २ सय ५ वटा स्टल रहेका, उपत्यका बाहिरका ५२ जिल्लाका ८० उद्योगहरु सहभागी छन् । चीन, भारत र वंगलादेश गरी ४५ वटा अन्तर्राष्ट्रिय स्टल रहेका छन् । मेलामा करिब चार लाख ५० हजारले अवलोकन गर्ने र झण्डै १५ करोड रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको छ ।