Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

रसुवामा भण्डारण केन्द्र नहुदाँ किसान मर्कामा

रसुवामा भण्डारण केन्द्र नहुदाँ किसान मर्कामा

दिलु कार्की
काठमाडौं, २६ फागुन । प्रदेश नं ३ नेपालका अन्य प्रदेशहरु मध्ये सबैभन्दा धेरै सम्भावना बोकेको स्थान हो । स्रोत, साधन देखि अन्य थुप्रै सम्भावना रहेको जानकारहरु बताउछन् । कृषिको त यहाँ अझ ठुलो सम्भावना रहेको छ ।

तर विडम्बना कुल ग्राहस्थ्य उत्पादनमा करिब ३२ प्रतिशत योगदान रहेको यो प्रदेशले समेटेकोे रसुवाका किसानहरुलाई आफ्नो उत्पादनले जीविका चलाउनै गाह्रो भएको छ । छिमेकी देश चीनसँग सिमाना जोडिएको यो प्रदेशमा कृषि उत्पादनको ठुलो सम्भावना रहेको छ । यसका अलवा जलविद्युतको पनि सम्भावना छ ।

विशेषगरि आलु खेतीका लागि यहाँको जमिन उर्वर मानिन्नछ । बर्षेनी करिब ५० हजार मेट्रिक टन आलु उत्पादन हुने गरेको छ। उच्च उत्पादन भएतापनि उत्पादित कृषि उपजले भने उचित मूुल्य नपाउने गरेको कृषकहरुको गुनासो छ । आफ्नो उत्पादनले बजार र मूल्य नपाउदाँ जीवनस्तर उकास्न निकै समस्या भएको रसुवा जिल्लाका कृषक पुर्ण प्रसाद न्यौपानेले बताए । “कोही बेला लागत पनि उठ्दैन, उनले भने – ४० देखि ८० रुपैयाँ किलो आलुको बिउ किनेर रोप्यो तर सिजनमा आलु प्रतिकिलो १० रुपैयाँ देखि १२ रुपैयाँ मात्र भाउ पाइन्छ ।” रसुवाबाट वार्षिक साढे २ करोड भन्दा बढी रुपैयाँको आलु विक्रि हुदै आएको छ ।

रसुवामा हिउदै आलु र बर्षे आलु गरेर दुई सिजन आलु खेती हुन्छ । उच्च हिमाली क्षेत्रमा बर्षे आलु लगाइन्छ भने त्रिशुली नदीको छेउ क्षेत्रमा हिउँदे आलु लगाईन्छ । यहाँ उत्पादित आलुको मुख्य बजार भनेको काठमाडौं हो । व्यापारीहरुले सिजनमा किसानहरुसंग ८ रुपैयाँ केजी सम्म आलु किनेर बजारमा २५ देखी ३० रुपैयाँमा बेच्ने गरेको कृषक न्यौपानेको गुनासो छ । फागुन चैतमा उत्पादित आलुलाई भण्डारण गरेर भदौ असोजमा बेच्न सकेमा त्यसले प्रतिकेजी ५० रुपैयाँ सम्म मूल्य पाउने उनले बताए । आलु भण्डारण नहुदाँ आलु कुहिने डरले व्यपारीहरु जति मूल्य भन्छन् त्यतिमा नै बेच्ने बाध्य छन् । किसानसंग २० रुपैयाँ प्रतिकेजी किनिएका आलु काठमाडौंको तरकारी बजारमा व्यापारीहरु प्रति केजी १ सय २० रुपैयाँ सम्ममा बेच्ने गर्छन् । किसान आफैले बजारमा ल्याएर बेच्न असम्भव रहेकोले बिचौलियाहरुको मनोमानी चलेको किसानहरुको भनाई छ ।
जिल्लाका किसानहरु सित भण्डारण निमार्णको माग गर्दै सम्बन्धित निकाय सम्म धेरै पुगे तर उनीहरुको माग पुरा नभएको रसुवा लहरेपौवाका किसान नरेन्द्र बस्नेतको गुनासो छ । किसानका लागि भन्दै सरकारले धेरै योजनाहरु ल्याएपनि वास्तविक किसानलाई सरकारको कृषि नीतिले नछोएको छैन्, उनी भन्छन् – ‘सिजनमा एक किसानले नै ५० क्विनटल सम्म आलु फलाएका हुन्छौ तर १० रुपैयाँ किलो बेच्नु पर्छ, त्यती सस्तोमा बेच्नु भन्दा कुहाएर मल बनाउदाँ फाइदा हुन्छ ।’

रसुवा जिल्लामा सित भण्डारण नहुदाँ केहि कृषकहरुले नुवाकोट सम्म आलु ल्याएर भण्डारण गर्ने गरेका छन् । नुवाकोटको सित भण्डारमा आलु भण्डारणको पहिलो प्राथमिकता स्थानीयले पाउछन् बाँकी रहेको ठाँउ मात्र रसुवाबासीलाई दिइन्छ । सोहि कारण पनि रसुवाबाट नुवाकोट पु¥याइएको सबै आलु भण्डारण हुदैन् ।

पछिल्लो समय केही किसान समुह, विभिन्न संघ संस्था र जिल्ला कृषि विकास केन्द्रको पहलमा रसुवामा पनि भण्डार केन्द्र निमार्ण भइरहेको छ । तर निमार्णमा अत्याधिक ठिलाई भएको रसुवा गत्लाङ्गका किसान दोर्जे लामाले बताए । बजेटको अभाव र सडक बिस्तार राम्रोसंग नभएकाले काठमाडौंबाट आवश्यक सामान जिल्ला सम्म पु¥याउन समय लागेकाले निमार्णमा ढिलाई भएको उनको भनाई छ । अहिलेको गतिमा काम भए निर्माण सक्न अझै ३ बर्ष लाग्ने देखिन्छ ।

बिषेश गरि जिल्लाको आमाछोदिङ्मो गाउँपालिकाको गत्लाङ र उत्तरगया गाउँपालिकाको लहरेपौवामा बढी आलु उत्पादन हुने गरेको छ । यस बाहेक जिल्लाका राम्चे, यार्सा र रुक्सेपानीमा पनि आलु उत्पादन हुने गरेको छ । जिल्लामा जनकदेव, एमएस फोटी टु, (निलो आलु ) कुफ्रिज्योती र खमलसेतो जातको आलु उत्पादन हुने गरेको छ । जिल्लाको गत्लाङ र साबिकको लहरेपौवामा उत्पादन भएको आलु स्थानीय बजारका साथै काठमाडौंमा बढी खपत हुने गरेको छ । जिल्लामा करिब ५ हजार भन्दा बढी किसानले आलु खेती गर्ने गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x