Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

निजी आवास पुनर्निर्माणका लागि विश्व बैंकको ३० अर्ब ऋण स्वीकृत

निजी आवास पुनर्निर्माणका लागि विश्व बैंकको ३० अर्ब ऋण स्वीकृत

काठमाडौं, पौष २ । विश्व बैंकले भूकम्पले क्षति पुर्याएका निजी आवास पुनर्निर्माणका लागि थप ३० अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ । यसअघि विश्व बैंकले विनाशकरी भूकम्प लगत्तै असार महिनामा २० अर्ब रुपैयाँ सहयोग दिएको थियो । यससहित निजी आवास पुनर्निर्माणका लागि मात्र विश्व बैंकबाट नेपालले ५० अर्ब रुपैयाँ सहयोग परिचालन गर्ने भएको छ ।
विश्व बैंकको यो सहयोगले अहिले निर्माणाधीन घरहरुको दोस्रो र तेश्रो किस्ता रकम वितरणका लागि सहज हुनेछ । भूकम्पको क्षति नेपालको कुल गार्हस्थ उत्पादनको करिब ३५ प्रतिशत रहेको थियो, जसको पुनस्र्थापनाका लागि ७ अर्ब डलर आवश्यक पर्ने बताइएको थियो ।
भूकम्पपछि करिब पाँच लाख घरहरु क्षति भएको अनुमान गरिएपनि अनुदान लिन योग्य घरपरिवारको संख्या ६ लाख ५० हजार पुगेको छ भने सरकारले सुरुमा २ लाख रुपैयाँ अनुदान दिने घोषणा गरेकोमा यसलाई वृद्धि गरी तीन लाख पुर्याएको छ । अनुमान गरिएकोभन्दा सर्वेक्षणका क्रममा बढी घरपरिवार अनुदानका लागि योग्य हुनु र अनुदानको रकम पनि वृद्धि भएपछि यसबाट सरकारलाई अतिरिक्त १०२ अर्ब रुपैयाँको व्यय थपिएको थियो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प गएको ११ महिनापछि अनुदान वितरण सुरु गरेको हो । अहिलेसम्म ७३,७०६ घरहरुमात्र निर्माण सम्पन्न भएका छन् । विश्व बैंकले दिएको थप ३० अर्ब रुपैयाँ सहयोगले ९६ हजार घरहरुको पुनर्निर्माण हुनेछ । यसभन्दा अघि विश्व बैंकको सहयोगले ५५ हजार सुरक्षित घरहरु निर्माणका लागि परिचालन भएको थियो । पुनर्निर्माण प्राधिकरणका अनुसार थप एक लाख ७७ हजार घरहरु निर्माणको क्रममा छन् ।
विश्व बैंकको मल्टि डोनर ट्रस्ट फण्डमा अमेरिका, बेलायत, स्वीजरल्याण्ड र क्यानडा साझेदार छन् । त्यस्तै, जापान र भारतले पनि निजी आवास पुनर्निर्माणका लागि समानान्तर रुपमा सहयोग प्रदान गरिरहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x