बैंकहरुलाई मेगा मर्जरमा जान सरकारले प्रोत्साहन गर्छ : अर्थमन्त्री खतिवडा
काठमाडौं, १६ बैंशाख । अर्थमन्त्री डा. युवराज खतिवडाले वाणिज्य बैंकहरुको मर्जरलाई सरकारले प्रोत्साहन गर्ने बताएका छन् । त्यसका लागि आगामी आर्थिक वर्षको बजेटमा कर छुट सहित बैंकमा आईपर्ने प्राविधिक समस्याहरु हल हुनेगरी आवश्यक व्यवस्था गर्ने बताएका हुन ।
अर्थको अर्थले २६ औं वार्षिकोत्सवको अवसरमा आयोजित ‘मर्जरः कस्ट तथा उत्साह’ विषयक कार्यक्रममा उनले बैंकको संख्या भन्दापनि बैंकका शाखा बढाएर सेवा सुविधा बढाउँनु पर्ने बताए ।
मुलुकको अर्थतन्त्रको आकार ३४ खर्ब ६४ अर्ब रुपैयाँको भएकाले त्यसको १ प्रतिशत चुक्ता पुँजीसम्म भएको बैंकको कल्पना गर्नु स्वभाविक भएको पनि उनको भनाई थियो ।
नारायण पौडेल –प्रवक्ता, नेपाल राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकका प्रवक्ता पौडेलले बैंकहरु मिलेर मर्जरको प्रक्रियामा गए संख्या घट्ने बताएका छन् । राष्ट्र बैंकको चाहना मर्जरबाट संस्था घटोस् भन्ने रहेको उनले बताए । मर्जरपछि वित्तीय प्रणाली सवल बनेको विगतले प्रमाणित गरेको भन्दै आगामी दिनमा पनि आवश्यकता हेरेर मर्जरमा जानेलाई सहजीकरण गर्ने उनले बताए ।
इच्छाराज तामाङ –अध्यक्ष सिभिल बैंक
सिभिल बैंकका संचालक समितिका अध्यक्ष इच्छाराम तामाङले सरकारले सहुलियत प्रदान गरे बैंकहरु मर्जरमा जान इच्छु रहेको बताए । उनले धेरै संस्था हुनु पनि अनुपयुक्त रहेको भन्दै सरकारले नीतिगत सहुलियत उपलब्ध गराए मर्जरमा जानका लागि सहयोग गर्ने बताए । मेगा मर्जर गर्ने सरकारले नीति लिए त्यसलाई असहयोग गर्नु पर्ने कारण नभएको पनि उनको तर्क थियो ।
ज्ञानेन्द्र ढुङ्गाना –अध्यक्ष नेपाल बैंकर्स एशोसिएशन
अध्यक्ष ढुङ्गानाले मर्जरपछि केही चुनौतीको सामना गर्नु परे पनि धेरैजसो फाइदा नै हुने गरेको विगतले देखाइसकेको बताए । अस्वस्थकर प्रतिस्प्रधालाई कम गर्न पनि मर्जरको आवश्यकता रहेको उनको भनाई थियो । मर्जरमा जान प्रोत्सहन गर्नका लागि सरकारले केही सहुलियतसँथै सञ्चालक समितिको संख्यामा पनि पुनर्विचार गर्न आवश्यक रहेको बताए ।
अनिल शाह –प्रमुख कार्यकारी अधिकृत, नबिल बैंक
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह भने मेगा मर्जर किन आवश्यक छ भनेर प्रश्न गरे । उनले विगतमा पनि राष्ट्र बैंकले पुँजी बृद्धिको नीति ल्याउदा त्यसमा बैंकहरु सफल भएको भन्दै उनले अव मेगा मर्जरमा जान पनि तयार रहेको बताए । तर मर्जरको आवश्यकता किन भन्नेबारे उत्तर आवश्यक हरको बताए ।
अनलराज भट्टराई –पूर्व बैंकर्स
अनलराज भट्टराईले पनि मर्जरको आवश्यकता खट्किएको बताए । उनले मर्जर गरेर बैंकहरुलाई सवल बनाउनु पर्ने धारण राखे ।
भुवन दाहाल–प्रमुख कार्यकारी अधिकृत, सानिमा बैंक
त्यस्तै कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै दाहालले मर्जरका केही समस्या भएपनि धेरै फाइदा रहेकाले यसलाई वढावा दिनु पर्ने सुझाब दिए ।