श्रमजीवी वर्गको जीवनमा परिवर्तन नआएसम्म समृद्धि सम्वभ छैन : उपराष्ट्रपति पुन

काठमाडौं, १८ बैशाख । उपराष्ट्रपति नन्दबहादुर पुनले श्रमजीवी वर्गको आर्थिक सामाजिक जीवनमा सकारात्मक परिवर्तन नआएसम्म समृद्धि सम्भव नभएको बताएका छन् । विश्व मजदुर दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानका लागि सबै श्रमजीवी वर्ग समृद्ध, सुखी र खुशी हुनुपर्नेमा जोड दिए ।
मजदुरको हकहितका लागि भएको संवैधानिक व्यवस्थाको कार्यान्वयन गरिए मजदुरका धेरै अधिकार प्राप्त हुने उल्लेख गर्दैै उनले नेपालको संविधानले प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकको व्यवस्था गरेको प्रष्ट पारे ।
श्रमजीवी वर्गको उत्थानका लागि सबैले काम गर्न पाउने अवस्थाको सुनिश्चितता गरिनुपर्नेमा जोड दिँदै उपराष्ट्रपतिले देशको मुख्य सामाजिक आर्थिक शक्तिका रूपमा रहेको श्रमशक्तिलाई दक्ष र व्यावसायिक बनाउन र स्वदेशमा नै रोजगारी अभिवृद्धि गर्न सरकारको ध्यानाकर्षण गराए ।