पदयात्रा र हिमाल आरोहणमा जाने पर्यटकले आवश्यक सामान आफ्नै देशबाट ल्याउदा नेपाली व्यवसायी मर्कामा
काठमाडौं, २५ बैशाख । नेपाल भ्रमणमा आउने पर्यटकको संख्या बार्षिकरुपमा बढ्दो छ । मनोरम दृष्य अवलोकन, हिमाल आरोहण, पदयात्रा लगायतका विभिन्न उद्धेश्य सहित पर्यटकहरु नेपाल आउने गर्छन । तर ति पर्यटकहरुले नेपाल आउदा गर्ने खर्चबाट स्वयंम व्यवसायीहरुले सन्तुष्ट छैनन् । पछिल्लो समय नेपालमा निकै कम खर्चालु पर्यटक बढ्न थालेको भन्दै खर्चको सिमा नै तोक्नुपर्ने आवाज पनि पर्यटन बजारमा उठ्न थालेको छ ।
यति मात्र होइन, पर्यटकले नेपाल भ्रमणका क्रममा चाहिने मध्ये अधिकांश सामाग्रीहरु समेत विदेशबाट ल्याउने गरेको व्यवसायीहरु बताउछन् । नेपाल घुम्न आउने अधिकांश पर्यटकहरुले ट्रेकिङ्ग र हिमाल आरोहण गर्न चाहिने सामाग्रीहरु आफ्नै देशबाट बन्दोबस्त गरेर आउने गरेको व्यवसायीहरु बताउछन् । यसले गर्दा हिमाल र पदयात्राका लागि आवश्यक सामाग्री विक्री गर्दै आएका व्यवसायीहरु मर्कामा परेका छन् । व्यवसायीहरुका अनुसार बार्षिक सयौ स्वदेशी एवं विदेशी पर्यटकले सगरमाथा सहित अन्य हिमालहरुको आरोहणमा गर्छन भने पदयात्रामा जान रुचाउने पनि निकै छन् ।
१७ वर्षबाट पर्यटकलाई आवश्यक पर्ने सामाग्री विक्री गर्दै आएका एभरेष्ट आउटडोरका सञ्चालक सिताराम खनालका अनुसार एक जना पर्यटकलाई ट्रेकिङ्गको लागि करिब ३० हजार रुपैयाँको सामग्री आवश्यकता पर्दछ । यी सामाग्रीहरु नेपालमा बन्ने देखि विश्व बजारमा उपलब्ध सामाग्रीहरु हुन् । पर्यटकले प्रयोग गर्ने लठ्ठी, जुत्ता र बोतल नेपालमा बन्दैनन् तर अन्य थुप्रै सामानहरु नेपालमा पनि बन्ने खनालको भनाई छ । नेपालीले उत्पादन गरेका सामाग्रीहरु अन्य देशबाट ल्याएका भन्दा पर्यटकलाई करिब २० प्रतिशतसम्म सस्तो पर्ने भएपनि उनीहरुले उतैबाट ल्याउने गरेका छन् ।
त्यस्तै हिमाल आरोहणको लागि करिब १० लाख रुपैयाँको सामग्री लाग्ने एबीसी आउटडोर प्रा.लि. सञ्चालक मिलन राई बताउँछन् । उनले अर्थको अर्थसँग भने–‘नेपालमा हिमाल आरोहणका लागि चाहिने सबै सामग्रीहरु उपल्ब्ध छन् । तर, अधिकांश पर्यटकले यहाँ आएर सबै सामान किन्ने गरेका छैनन् । उनीहरुले केही अपुग सामान मात्र नेपालमा किन्ने गरेका छन् । बाँकी आफ्नै देशबाट ल्याउछन् । ’ यस्तो हुनुमा पर्यटकहरुलाई नेपालमा ल्याउँने एजेन्सीहरुले नेपालमा यस्ता सामाग्रीहरु सहज रुपमा पाइन्छन् भन्ने सूचना प्रवाह गर्न नसक्नुको परिणाम भएको उनी बताउछन् । नेपालमा आउँने पर्यटकहरुलाई सकेसम्म नेपालकै उत्पादन प्रयोग गर्न प्रोत्साहन गरे त्यसले कुल गार्हस्थ्य उत्पादनमा थप टेवा पुग्ने व्यवसायी राईको भनाई छ ।
तर, नेपालका व्यवसायीहरुले बिक्री गर्ने सामानको गुणस्तरका कारण पनि विदेशी पर्यटकहरुले नेपाली सामान नरुचाउने गरेको नेपाल पर्वतारोहण संघका महासचिव कुल गुरुङले बताए । नेपालमा हिमाल आरोहण गर्ने उल्लेख्य मात्रामा नभएको र विदेशीहरु पनि कमै मात्रामा आउने भएकोले हिमाल आरोहण गर्न आउनेले आफ्नै देशबाट ओरिजिनल सामाग्रीहरु ल्याउने गरेको उनको भनाई छ । नेपाल भ्रमणमा आउने पर्यटकहरुले यसरी विदेशबाटै सामान ल्याउदा नेपालीलाई प्राप्त हुने पैसा अर्कै देशमा जाने गरेको छ ।