गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम पुन: सुरु
काठमाडौं, २ जेठ । भैरहवामा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम पुन: सुरु भएको छ । निर्माण कम्पनीले पाउनुपर्ने भुक्तानीमध्येको १० करोड रुपैयाँ पछि शोधभर्ना गर्ने गरी नागरिक उड्डयन प्राधिकरणलाई बुधबार उपलब्ध गराएपछि कम्पनीले हिजै देखि काम सुरु गरेको जनाइएको छ ।
ठेकेदारले पाउनुपर्ने १० करोड रुपैयाँ तत्काल नेपाल नागरिक उड्डयन प्राधिकरणले पछि शोधभर्ना हुने गरी बुधबार उपलब्ध गराएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी गराए । भुक्तानी पाउनासाथ ठेकेदार कम्पनीले भावनमार्गको अन्तिम पिचको काम सुरु गरेको हो ।
बिहीबारदेखि निर्माण कार्यमा निरन्तरता र तीव्रता दिने प्रतिबद्धता ठेकेदार कम्पनीले जनाएका छन् । एक महिनाअघि नै ठेकेदार कम्पनीलाई उपलब्ध गराउनुपर्ने खर्चको भुक्तानी सरकारी प्रक्रियागत ढिलाइले भुक्तानी नहुँदा आइतबारदेखि काम रोकिएको थियो ।
अर्थ मन्त्रालयले ७० करोड रुपैयाँको निकासा सोमबार आयोजनालाई दिएको थियो । एसियाली विकास बैंक अन्तर्गतको उक्त रकम ठेकेदार कम्पनीले पाउनुपर्ने थियो । बैंकले सिधै ठेकेदार कम्पनीको खातामा राखिदिने गरेकोमा अहिले नागरिक उड्डयन प्राधिकरणको खातामा जम्मा गरिदिनेछ ।