सधै यात्रु भरिभराउ हुने साझा यातायात करोडौ घाटामा, अझै थप बस संचालनको तयारी
बलराम बुढाथोकी
काठमाडौं, २४ जेठ । काठमाडौं उपत्यका भित्र चल्ने साझा यातायातमा प्रायः यात्रुहरु भरिभराउ हुन्छन् । बसमा उभिएर यात्रा गर्न पनि सकसपूर्ण हुन्छ । तर, यात्रुको कहिल्यै कमि नहुने साझा यातायात संचालन गर्ने साझा यातायता सहकारी संस्था भने सधै घाटामा चलिरहेको छ ।
प्रायः साझाको एउटा बसबाट प्रतिदिन ५ देखि १० हजार रुपैयाँ सम्म आम्दानी हुने गरेको छ । लगनखेल–रत्नपार्क–लाजिम्पाट–चक्रपथ हुँदै नयाँ बसपार्कसम्म सञ्चालन हुने साझा बसका एक चालकले जानकारी दिए अनुसार प्रत्येक दिन ५ हजार रुपैयाँ भन्दा कम भाडा उठ्दैन । कहिले यात्रुहरु धेरै भएको बेलामा ७ देखि ९ हजार रुपैयाँ सम्म भाडा रकम उठ्ने गरेको उनले जानकारी दिए ।
साझाले यात्रुबाट मात्र नभएर गाडीमा गरेको विज्ञापनबाट मासिक ९ लाख ३६ हजार २ सय ८३ रुपैयाँ आम्दानी गर्ने गरेको १२ औं साधारण सभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । अहिले साझाका ५१ वटा बस उपत्यकाका विभिन्न ९ वटा रुटमा संचालनमा छन् । साझा यातायातमा दैनिक एउटा बसमा न्यूनतम ५ हजार रुपैयाँका दरले भाडा उठ्दा पनि दैनिक २ लाख ५५ हजार रुपैयाँ भाडा उठ्ने गर्छ । यसका आधारमा हिसाव गर्दा गाडीको वार्षिक आम्दानी मासिक ९ करोड ३० लाख ७५ हजार रुपैयाँ हुन्छ ।
घाटामा संचालित साझा यातायात अझ बस थप्ने तयारीमा छ । हालसालै साझाले २० वटा नयाँ बसहरु ल्याएको छ । संस्था घाटामा भएपनि सेवाका लागि अझै गाडी थप्ने संस्थाका कार्यकारी निर्देशक भूषण तुलाधर बताउँछन् । उनी भन्छन्–‘संस्था घाटामा छ । यो सबैलाई थाहा भएको कुरा हो । तर, घाटामा भएपनि हामी सर्वसाधारणहरुको सुविधाका लागि अझै नयाँ गाडीहरु थप्ने क्रममा छौं । यसमा कसैले प्रश्न उठाउँनु पर्ने कुरै छैन् ।’ तुलाधरले अर्थको अर्थसँग कुरा गर्दै गुणस्तरीय सेवा दिँदा नाफा नहुने बताए । उनले भने –‘गुणस्तरीय सेवा पनि दिनुपर्ने अनि नाफा कसरी हुन्छ ?’ प्राइभेट कम्पनीहरुले ठेक्कामा बस सञ्चालनमा दिने र निर्धारित रकम चालक र सह–चालकले कम्पनीको मालिकलाई दिने भएकाले ति कम्पनीहरु नाफामा रहेको उनको भनाई छ।
हाल साझामा ५१ वटा बसमा ८९ जना चालक र ८९ जना सहचालक कार्यरत छन् भने हल्का सवारी चालनक १ जना रहेका छन् । त्यसैगरी साझाको कार्यालयमा स्थायी र करार गरी २५ जना कर्मचारी कार्यरत छन् ।
नेपाल सरकारको ९८ प्रतिशत सेयर स्वामित्व रहेको साझाले गत आर्थिक वर्ष ०७४÷०७५ मा १ करोड ७८ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आर्थिक वर्षमा १ करोड ८३ लाख रुपैयाँ भन्दा बढीको घाटा व्यहोरेको थियो । गत आर्थिक वर्षमा बस सञ्चालनमा मात्र साझाले ११ करोड ९० लाख रुपैयाँ भन्दा बढी खर्चेको छ भने अघिल्लो आर्थिक वर्षमा ८ करोड ९९ लाख रुपैयाँ भन्दा बढी खर्चेको छ । त्यस्तै गत आर्थिक वर्ष कर्मचारीको तलव भत्तामा १ करोड ९० लाख रुपैयाँ खर्चेको छ । उक्त रकम प्रशासकीय खर्च शीर्षकमा खर्च गरिएको साझाको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।