नेपाल पुनर्बीमा कम्पनीले ४५ दिन भित्र आईपीओ जारी गर्ने
काठमाडौं, ३२ जेठ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न साधारण सभामा आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदनका साथै वासलात तथा नाफा, नोक्सान हिसाब सहितको आर्थिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ ।
त्यस्तै कम्पनीले ४५ दिन भित्र आईपिओ सेयर खुल्ला गर्ने कम्पनीका अध्यक्ष महेश कुमार गुँरागाईले जानकारी दिए । उनका अनुसार नेपालका अत्याधिक नाफा कमाउने कम्पनीमा उक्त कम्पनी पनि पर्न सफल भएको र नेपाल सरकारबाट सबैभन्दा बढी कर तिर्ने कम्पनीको प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ ।
गत वर्ष कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँ नाफा गरेको छ । नेपाल सरकारलाई कर तिरेर कम्पनीलाई खुद नाफा १ अर्ब भन्दाबढी भएको पनि अध्यक्ष गुँरागाईले जानकारी दिए । हाल कम्पनीले नेपालसहित अन्य ३० वटा देशका ६५ वटा बीमा तथा पुनर्बीमा कम्पनीहरुको पुनर्बीमा गरेको छ । त्यसैगरी कम्पनीले चालु आर्थिक वर्षमा ७ अर्ब प्रिमियम संकलन गर्ने लक्ष्य राखेको जनाएको छ ।