दुई दिन भित्र बजेट ल्याइ सक्नुपर्ने दबावमा स्थानीय सरकार

काठमाडौं,८ असार । संघीय सरकारले स्थानीय तहरुलाई मंगलबार भित्रै बजेट ल्याउन निर्देशन दिएपछि अबकाे दुई दिन भित्र बजेट पेश गर्नुपर्ने दवावमा स्थानीय सरकार रहेका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अर्थमन्त्रालयको पत्रअनुसार असार १० गते भित्रै स्थानीय तहले आफ्नो गाउँ तथा नगरसभामा बजेट पेश गरिसक्न निर्देशन दिएको हो । समयमै बजेट नआएमा संघीय सरकारबाट सम्बन्धित स्थानीयत तहमा जाने अनुदान र राजश्व बाँडफाँटको प्रवधन्नमा समस्या पर्ने चेतावनी अर्थ मन्त्रालयले दिएको छ । अन्तरसरकारी वित्त हस्तान्तरण ऐनअनुसार स्थानीय तहले असार १० सम्म बजेट पेश गरिसक्नुपर्छ । यो व्यवस्था स्मरण गराउँदै संघीय सरकारले स्थानीय तहलाई समयमै बजेट ल्याउन ध्यानाकर्षण गरएको छ ।
बजेट ल्याउने समयसीमा पर धकेल्न स्थानीय तहले आग्रह गरेका थिए । संघीय सरकारले सकारात्मक जवाफ दिएको पनि थियो । तर यसका लागि ऐन नै संशोधन गर्नुपर्ने भएपछि यो सम्भावना टरेको छ । अधिकाश स्थानीय तहले बजेट ल्याइ सकेका छन् । संघीय सरकारको बजेट जेठ १५ र प्रदेश सरकारको बजेट असार १ गते पेश ल्याउने कानुनी ब्यवस्था छ ।