भारतीय संरचना प्रयोग गरि बंगलादेश विद्युत निर्यात गरिने

काठमाडौं,८ असार । नेपाल र बंगलादेश तेस्रो मुलुकको संरचना प्रयोग गरी उर्जा निर्यात गर्न सहमत भएका छन् । बंगालादेशको ढाकामा दुई देशका सचिवहरुको ऊर्जा सचिवस्तरीय बैठकले भारतीय संरचना प्रयोग गरी बंगलादेश विद्युत निर्यातको लागि सहमति गरेको हो । यसै गरी नेपालका विद्युत आयोजनामा बंगलादेशले लगानी गर्ने, बंगलादेशले नेपालबाट विद्युत आयात गर्ने र वैकल्पिक ऊर्जाको क्षेत्रमा दुई देशले सहकार्य गर्ने निर्णय भएको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ । बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट विद्युत् लग्ने नीति तय गरेको छ। नेपालको ऊर्जालाई बङ्गलादेशसम्म पु-याउन प्रशारणलाइन निर्माण, परियोजनाको छनोट र वैकल्पिक ऊर्जामा सहकार्यबारे निर्णय भएको छ ।
यसै बीच मन्त्रालयले जारी गरेका श्वेतपत्रमा उल्लेख गरेका आयोजनाहरुलाई पनि अघि बढाउन दुइ देश सहमत भएका छन् । आयोजनामध्ये आकर्षक र उपयुक्त आयोजना छनोट गरी अगाडि बढाउने र प्राविधिक रुपमा आवश्यक तयारी गरी आगामी बैठकमा पेश गर्ने सहमति भएको छ। श्वेतपत्रमा २० वटा जलविद्युत् आयोजना अगाडि बढाउने उल्लेख छ।
जस अनुशार ७६२ मेगावाट क्षमताको तमोर जलाशय, ८०० मेगावाट क्षमताको दूधकोशी जलाशयुक्त आयोजना, माथिल्लो अरुण ७२५ मेगावाट, किमाथाङ्का अरुण ४५० मेगावाट, तल्लो अरुण ६७९ मेगावाट क्षमताका आयोजना निर्माण गर्ने उल्लेख गरेको छ। यस्तै सुनकोशी दोस्रो एक हजार ११०, सुनकोशी तेस्रो ५३६, तामाकोशी पाँचौ १०१, खिम्ती शिवालय ५०० मेगावाट र कोखाजोर जलाशयुक्त आयोजना १११ मेगावाट क्षमताका आयोजना लगायत श्वेतपत्रमा समावेश छ।