प्रमुख कार्यकारी नियुक्तिलाई लिएर बैंक संचालकबीच बेमेल, पूर्व स्वीकृतिको व्यवस्था गर्ने तयारीमा राष्ट्र बैंक

काठमाडौं, ८ असार । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत नियुक्तिलाई लिएर संचालकहरुबीच नै बेमेल आउन थालेपछि नेपाल राष्ट्र बैंकले निर्देशिका मार्फत यस्तो व्यवस्था गर्न लागेको हो ।
अहिले बैंक तथा वित्तीय संस्थाका संचालकहरु आफुखुसी प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्दै आएका छन् । अव भने नियुक्ति गर्न लागेको व्यक्तिबारे राष्ट्र बैंकलाई पूर्व जानकारी गराउनुपर्ने र राष्ट्र बैंकले स्वीकृति दिएपछि मात्र नियुक्त गर्न पाउने व्यवस्था कार्यान्वयनमा ल्याउने गभर्नर डा.चिरञ्जीवी नेपालले जानकारी दिए ।
जनताको अवौ रुपैयाँ व्यवस्थापनको जिम्मेवारी लिने व्यक्ति संचालकहरुको मात्र हातमा छाड्नु हँुदैन भन्ने निष्कर्षमा राष्ट्र बैंक पुगेको उनले बताए । भारत, श्रीलंका लगायतका मुलुकमा पनि प्रमुख नियुक्त गर्दा केन्द्रिय बैंकको स्विकृति लिनुपर्ने व्यवस्था छ ।
अहिले सन्राइज बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्तिलाई लिएर संचालकहरुबीच बिवाद बढेको छ। अध्यक्ष मोतिलाल दुगडले आफुखुसी अन्य संचालकहरुको स्विकृती नलिई निरज श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको भन्दै संचालक समिति सदस्य शैलेन्द्र गुरागाईले सार्वजनिक असन्तृष्टि जनाएका छन् । जसको कारण असार २ गते देखि कार्यभार सम्हाल्ने गरि नियुक्त भएका श्रेष्ठले कार्यभार अझै सम्हालेका छैनन् । संचालकहरुको बिवाद नसुल्झेसम्म बैंकको जिम्मेवारी नलिने विचारमा उनी छन् ।