व्यवसायी अजेयराज सुमार्गीबाट ४ अर्ब लाभकर उठाउन बाटो खुला

काठमाडौं,९ असार । सरकारलाई व्यवसायी अजेयराज सुमार्गीबाट ४ अर्ब ३१ करोड ९५ लाख पूँजीगत लाभकर लिन सर्वोच्च अदालतले बाटो खुला गरिदिएको छ । न्यायाधीश सुष्मालता माथेमा र मनोजकुमार शर्माको इजलासले ब्यवसायी सुमार्गीको रिट निवेदनमा अनुशार अनुसारको अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश गरेपछि आन्तरिक राजश्व विभागलाई उनीबाट कर असुल गराउन बाटो खुलेको हो ।
सुमार्गीको साइप्रस स्थित एयरवेल सर्भिसेजमार्फत् टेलियोसोनेरालाई सेयर बेच्दा सुमार्गीले पाएको पूँजीतगत लाभको कर र ब्याज जरिबानासहित तिर्नुपर्ने निर्णय आन्तरिक राजश्व विभागले गरेको थियो। वैशाख ३१ गते कर निर्धारण गरिए पनि त्यसको पत्र औपचारिक रूपमा नबुझ्दै सुमार्गी आफूलाई गर्न लागिएको कर निर्धारण नगर्नु नगराउनु भन्ने अन्तरिम आदेश माग्दै सर्वोच्च अदालत गएका थिए। जेठ १ मा सर्वोच्चका न्यायाधीश वम कुमार श्रेष्ठले उनले माग गरेअनुसार अन्तरिम आदेश जारी गरेका थिए । यता कार्यालयले भने सर्वोच्चको आदेश आउनु अघि नै कर निर्धारण भएको भन्दै कर तिर्न सुमार्गीलाई ताकेता गर्दै आएको थियो । त्यसपछि पुन सुमार्गीले कर निर्धारण कार्यान्वयन नगर्ने आदेश माग्दै रिट दायर गरेका थिए।