बैंकहरुलाई मर्जरमा जान सुझाव दिदै गभर्नर नेपालले भने– ‘प्रेम गर्ने समय धेरै छैन’

काठमाडौं, ९ असार । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले मर्जरमा जान बैंकर्सहरुलाई सुझाएका छन् । राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा रहेको बेला अर्थको अर्थद्वारा आयोजित मौद्रिक नीतिको पूर्व छलफल कार्यक्रममा उनले मर्जरका लागि काउन डाउन सुरु भएको बताए ।
मर्जरका लागि तयार हुन सुुझाव दिदै उनले प्रेम गर्ने धेरै समय नभएकाले मौद्रिक नीति आउनु अघि नै प्रेम गर्न पनि बैंकर्सहरुलाई भने ।
अघिल्लो पटक बैंकहरुको पुँजी बृद्धिको निर्णय गर्दा त्यसलाई असफल बनाउन बैंकका अध्यक्षहरु शक्ति केन्द्र धाएको स्मरण गर्दै उनले अहिले सरकारले बजेट मार्फत नै मर्जरलाई जोड दिएकाले त्यसलाई कसैले असफल बनाउन नसक्ने बताए । ‘अहिले त सरकारले नै मर्जरमा जोड दिएको छ,’ उनले भने, ‘यसकारण अव त विगतमा जस्तो लाइन लागेर अर्थमन्त्री कहाँ जाने ठाँउ पनि छैन, मर्जरमा जान तयार हुनुस् । ’
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले मौद्रिक नीतिमा तरलता व्यवस्थालाई विशेष प्राथमिकता दिनुपर्ने बताए । केही सिमित ठुला उद्योगीहरुले मुलुकको सिंगो अर्थतन्त्रलाई चलाएको भन्दै उनले साना तथा मझौला उद्योगमा लगानी गर्न केही बैंकहरु छुट्याउनुपर्ने माग गरे । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले स्प्रेटदरमा पुनर्विचार गर्नुपर्ने सुझाव दिए । अर्को प्रसंगमा उनले बैंकहरुको फोर्सफुल मर्जर उचित नहुने बताए । बैंकहरुको मर्जर बिवाह जस्तै भएकाले लभ म्यारिजलाई प्रोत्साहन गर्नुपर्ने बताए ।
त्यस्तै नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङगानाले तरलता व्यवस्थापन सहित डिजिट बैंकिङ्गको सिमा बढाउने र सरकारले बजेट मार्फत सुन धितो राखेर ऋण पाउने व्यवस्थालाई मौद्रिक नीतिले उचित सम्बोधन गर्नुपर्ने बताए ।