देशभर १४ प्रतिशत मात्र रोपाइँ, धान उत्पादन कम हुने अनुमान
काठमाडौं, १८ असार । मध्य असारसम्म देशभर १४ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ । यो पटक देशका अधिकांश भागमा मौसमले साथ नदिएपछि रोपाइँ कम भएको हो ।
पर्याप्त वर्षा नहुँदा सिँचाइ सुविधा भएका स्थानमा समेत रोपाइँ हुन सकेको छैन । नेपालका धेरै स्थानमा आकाशेपानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार असार १५ सम्म उच्च पहाडमा ३९ प्रतिशत, पहाडमा २२ र तराईमा ११ प्रतिशत रोपाइँ भएको छ।
मन्त्रालयका अनुसार तराईमा १० लाख ९४ हजार ६ सय ३६ हेक्टर, मध्य पहाडमा ३ लाख ९९ हजार ६ सय ७५ हेक्टर र उच्च पहाडमा ५८ हजार एक सय ५८ हेक्टर जमिनमा धानखेती हुनेगर्छ । मौसमको प्रतिकूलताका कारण यस वर्ष धान उत्पान करिब ५ प्रतिशत घट्ने सरकारी अनुमान छ।
नेपालको कुल १५ लाख ५२ हजार हेक्टरमध्ये १८ प्रतिशतमा मात्रै १२ महिना सिँचाइ सुविधा उपलब्ध छ। धान उत्पादन कम हुदाँ कुल ग्राहस्थ उत्पादनमा समेत असर पर्नेगर्छ ।