धनगढीमा वित्तीय साक्षरता सम्बन्धी हाते पुस्तिका समेत सार्वजनिक
 
			धनगढी, २९ असार । सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराले सुदूरपश्चिमलाई वित्तीय रूपमा साक्षर बनाएर आर्थिक समृद्धि दिलाउने बताएका छन् । मन्त्रालयले शनिवार धनगढीमा वित्तीय साक्षरता सम्बन्धी हाते पुस्तिका समेत सार्वजनिक गरेको छ ।
हाते पुस्तक सार्वजनिक गर्दै उनले प्रदेशमा वित्तीय साक्षरताको अभियान थालेर २० हजार नागरिकलाई हाते पुस्तक प्रदान गरिने बताए । वित्तीय साक्षरता निकै कम्जोर रहेको सुदूरपश्चिम प्रदेशमा प्रदेश सरकारले वित्तीय साक्षरता अभियान थाल्ने उनले बताए ।
अभियान अन्तर्गत प्रदेशका सबै स्थानीय तहसम्ममा साक्षरता बारे कार्यक्रम सञ्चालन गरिने भन्दै बोहोराले प्रत्येक नागरिकको हातमा हाते पुस्तिका र्पुयाइने बताए । ‘प्रत्येक नागरिकको बैङ्क खाता खोल्ने कुरालाई पनि अभियानले टेवा र्पुयाउने छ।’ मन्त्री बोहोराले भने, ‘यसबाट प्रत्येक नागरिकले वित्तीय साक्षरता बारे महत्त्वपूर्ण ज्ञान हासिल गर्नेछन् ।’
वित्तीय साक्षरता हाते पुस्तिकामा बैङ्क तथा वित्तीय संस्था, सहकारी, बिमा, पुँजीबजारका बारेमा विस्तृत जानकारी उल्लेख गरिएको छ । पुस्तिकाले वित्तीय अनुशासन कायम गर्न तथा आर्थिक कानुनी ज्ञानसमेत प्रदान गर्ने मन्त्री बोहोराले विश्वास व्यक्त गरे । मन्त्रालयका सचिव गोपाल प्रसाद अर्यालले पुस्तिकामा वित्तीय साक्षरता सम्बन्धी विभिन्न ५८ वटा प्रश्नको जवाफ उल्लेख गरिएको भन्दै यसले वित्तीय अभ्यासलाई सशक्तीकरण गर्ने बताए ।




 
                         
                        