Date

सोम, बैशाख २९, २०८२
Mon, May 12, 2025

बैदेशीक लगानीमा कमी, नेपालमा लगानी गर्न चीन र भारत सबैभन्दा बढी इच्छुक

बैदेशीक लगानीमा कमी, नेपालमा लगानी गर्न चीन र भारत सबैभन्दा बढी इच्छुक

बलराम बुढाथोकी
काठमाडौं, १ साउन । आर्थिक वर्ष २०७५÷७६ मा बैदेशीक लगानीमा कमी आएको छ । उद्योग विभागका अनुसार अघिल्लो आर्थिक वर्ष २०७५÷७६ मा ३ सय ३६ प्रोजेक्टमा २३ अर्ब ७४ करोड रुपैयाँ वैदेशीक लगानी भित्रिएको छ । आर्थिक वर्ष २०७४÷७५ मा ३ सय ९९ प्रोजेक्टमा ५५ अर्ब ७७ करोड रुपैयाँ बैदेशीक लगानी भित्रिएको थियो । तुलनात्मकरुपमा हेर्दा बैदेशीक लगानीमा ३२ अर्ब रुपैयाँभन्दा बढीले कमी आएको छ ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को प्रत्यक्ष प्रभाव विदेशी लगानीमा देखिएको बताइएको छ । विदेशी लगानीमा कमी आउनुको मुख्य कारण विदेशी लगानी सम्बन्धी ऐन नै भएको विभागका विदेशी लगानी तथा प्रविधि शाखा प्रमुख प्रशान्त बोहराले बताए । ऐन आउने हल्ला चलेसँगै विदेशी लगानी सम्बन्धी कस्तो व्यवस्था हुने हो भन्ने कौतुहल्ता लगानीकर्तामा परेको हुँदा लगानीमा ब्रेक लागेको उनले बताए । उनले भने–‘विदेशी लागनी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ संसद्बाट पास हुन करिव २ महिना लागेको थियो । त्यो समयमा लगानीकर्ताहरुमा अन्योलता छाएकाले गत आर्थिक वर्षमा विदेशी लगानीमा उत्साह छाउन सकेन ।’

सबैभन्दा बढी विदेशी लगानी पर्यटन क्षेत्रमा
गत आर्थिक वर्षको अन्त्यसम्ममा सबैभन्दा बढी लगानी पर्यटन क्षेत्रमा भित्रिएको छ । विभागका अनुसार गत आर्थिक वर्षमा पर्यटन सम्बन्धी १ सय २८ प्रोजेक्टमा १० अर्ब १८ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको छ । त्यस्तै अघिल्लो आर्थिक वर्षमा पर्यटन क्षेत्रमा १ सय ५८ प्रोजेक्टका लागि ४ अर्ब १५ करोड रुपैयाँ भित्रिएको थियो ।

अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी विदेशी लगानी ३६ अर्ब २३ करोड रुपैयाँ ऊर्जामा आधारित क्षेत्रमा भित्रिएको थियो । यो गत आर्थिक वर्षको कुल विदेशी लगानी रकम भन्दा बढी हो । गत आर्थिक वर्षमा सबैभन्दा कम विदेशी लगानी खनिजमा भित्रिएको छ । खनिज क्षेत्रमा १ करोड ३० लाख रुपैयाँ लगानी भित्रिएको हो । अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ८० करोड रुपैयाँ खनिजमा भित्रिएको थियो । तर, गत आर्थिक वर्षमा ३ अर्ब ७८ करोड भन्दा बढीले खनिज क्षेत्रमा लगानीको कमी आएको हो ।

चीनबाट सबैभन्दा बढी लगानी भित्रियो
गत आर्थिक वर्षमा सबैभन्दा बढी लगानी चीनबाट भित्रिएको छ । चीनबाटमात्र ११ अर्ब ९२ कारोड रुपैयाँ विदेशी लगानी भित्रिएको छ । बढी विदेशी लगानी भित्र्याउने दोस्रो देशमा भारत रहेको छ । भारतले गत आर्थिक वर्षमा ६ अर्ब १९ करोड रुपैयाँ लगानी भित्र्याएको छ । यसआधारमा हेर्दा नेपालमा लगानी गर्न छिमेकी मुलुकहरु नै इच्छुक देखिन्छन् ।

त्यस्तै सबैभन्दा कम विदेशी लगानी थाइल्याण्ड र दक्षिण अफ्रिकाको रहेको छ । उक्त दुई देशको विदेशी लगानी बरावरी ५० लाख रुपैयाँ मात्र रहेको छ ।

विदेशी लगानीमा बृद्धि हुन सक्ने
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा आधाभन्दा कम भित्रिएको विदेशी लगानी एक साता सम्ममा बढ्न सक्ने विभागले जनाएको छ । केही लगानीकर्ताहरुले फाईल ल्याएको तर उनीहरुले राजस्व नतिरेको हुँदा उनीहरुपनि राजस्व तिरेर एक हप्तासम्ममा दर्ता हुँन सक्ने शाखा प्रमुख बोहराले जानकारी दिए । तर, अघिल्लो वर्षमा यस्ता धेरै लागानीकर्ताहरुले फाईल ल्याएर राजस्व नतिर्ने गरेकोले तिनीहरुलाई गणना नगरिएको उनको भनाई छ ।
ती फाईलवालाहरु दर्ता हुन आएमा १० देखि १२ वटा प्रोजेक्ट थपिनुका साथै १ देखि २ अर्ब रुपैयाँसम्म लगानी बढ्न सक्ने उनको आँकलन छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *