युरोपेली मुलुककै ठुलो बैंक डच तीन अर्व घाटामा

काठमाडौं, ८ साउन । जर्मनीको डच बैंकको दोस्रो चौमासिकमा तीन अर्ब ६० करोड अमेरिकी डलर खुद नोक्सानी भएको छ। पुनर्संरचनाका क्रममा रहेको उक्त बैंक युरोपेली मुलुकहरुमै ठूलो मानिन्छ।
बैंकका कार्यकारी प्रमुख क्रिस्चियन सेविङ्गले एक वक्तव्य प्रकाशन गरी डच बैंकको सुधारका लागि धेरै कामहरु भइसकेका र त्यसले नतिजा दिन थालिसकेको बताए। यसै महिनाको सुरुमा डच बैंकले सन् २०२२ सम्ममा विश्वभर छरिएर रहेका बैंकका करिब २२ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको थियो। साथै, बैंकले सेयर कारोबारमा लगानी कम गर्ने तथा जर्मनी र युरोपेली मुलुकमा मात्र आफूलाई केन्द्रित गर्ने योजना सार्वजनिक गरिसकेको छ।
यसअघि दशौं वर्ष डच बैंकले अमेरिकी वालस्ट्रिटसँग प्रतिस्पर्धा गर्नेक्रममा बैंकको सञ्चालन खर्च ह्वात्तै बढेको थियो। बैंकले आफ्नो वार्षिक खर्चमा पनि झण्डै छ अर्ब युरो कटौती गर्ने योजना बनाएको छ। यसै वर्षको अप्रिलदेखि जुन महिनामा डच बैंकको राजश्वमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६ अर्ब २० करोड युरो कमी भएको थियो।