सेयर कारोबारमा उत्साह, बजार ६.९० अंकले बढ्यो
काठमाडौं, ८ साउन । साताको चौथो कारोबार दिन बुधबार (आज) सेयर बजारमा उत्साह छाएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थालाई मर्जरमा प्रोत्साहन गर्ने भएपछि सेयर कारोबारमा पनि उत्साह छाएको हो । आज ४ बजे मौद्रिक नीति सार्वजनिक हुँदैछ ।
मौद्रिक नीति सार्वजनिक हुने दिन नजिकिदै गएपछि लगातार तीन दिनदेखि सेयर बजार सकारात्मक देखिएको छ । त्यस्तै आज सेयर बजार ६.९० अंकले बृद्धि भई १२८४.०७ बिन्दुमा बन्द भएको छ ।
१ सय ७० कम्पनीको १३ लाख ४६ हजार ३ सय ३० कित्ता सेयर खरिद–विक्री हुँदा ४४ करोड ३४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । सबैभन्दा बढी सेयर कारोबार हुने उच्च स्थानमा नेपाल बैंक लिमिटेड छ भने दोस्रोमा कृषि विकास बैंक लिमिटेड रहेको छ । नेपाल बैंकको ३ कारोड ९९ लाख रुपैयाँ र कृषि विकास बैंकको २ कारोड ६६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
त्यस्तै नेप्सेमा सूचिकृत समूहमध्ये २ वटा समूहको उपसूचकमा गिरावट आएको छ भने अन्य समूहहरुको उपसूचकमा बृद्धि भएको छ । उपसूचक गिरावट हुनेमा फाईनान्स समूह र उत्पादन तथा प्रशोधन समूह रहेका छन् ।