सेयर बजार घटेको घटै, आज पनि १७.११ अंकले घट्यो
काठमाडौं, १२ साउन । साताको पहिलो कारोबार दिन आइतबार (आज) सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज सेयर बजारमा १७.११ अंकले गिरावट आई १२५२.८३ विन्दुमा रोकिएको छ । गतसातको अन्तिम दिन बिहीबार १४.१५ अंकले गिरावट आएको थियो ।
त्यस्तै बिहीबार ५५ करोड ५ लाख रुपैयाँको सेयर कारोबार भएकोमा आज ६ करोड रुपैयाँले कमि आएको छ । १ सय ६६ कम्पनीको १९ लाख ३७ हजार ४१ कित्ता सेयर ४९ करोड २६ लाख रुपैयाँमा खरिद–बिक्री भएको छ ।
आज नेप्सेमा सूचिकृत म्युचियल फण्ड समूह बाहेक सबै समूहको उपसूचकमा गिरावट आएको छ । म्युचियल फण्ड समूहको उपसूचक १.६४ प्रतिशतले बृद्धि भएको छ । सबैभन्दा बढी सेयर कारोबार गर्ने अग्रपंक्तिमा सरकारी बैंकहरु रहेका छन् । बढी सेयर कारोबार गर्ने अग्रस्थानमा कृषि विकास बैंक र दोस्रोमा नेपाल बैंक लिमिटेड रहेको छ । ती बैंकहरुको क्रमशः ४ करोड ८ लाख रुपैयाँ र ४ कारोड १ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो ।
बजार घट्नुलाई नेपाल राष्ट्र बैंकले गत बुद्यबार सार्वजनिक गरेको मौद्रिक नीतिलाई कारण मानिएको छ । मौद्रिक नीतिले बैंकको ब्याजदर घटाउन केही प्रयास गरेपनि बाणिज्य बैंकहरुले चालु आर्थिक वर्षमा चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र निष्काशन गर्नुपर्ने व्यवस्थाले बजारमा प्रभाव पारेको विश्लेषण गरिएको छ।