चेक क्लेरिङ गर्दै हुनुहुन्छ, पैसा काटिन्छ

काठमाडौं, १३ पौष । कसैलाई रकम भुक्तानी गर्न, रकम दिन वा अन्य प्रयोजनका लागि चेकमार्फत भुक्तानी गरिन्छ । यसैसंगै अहिले रकम भुक्तानी गर्न, रकम दिन वा रकमान्तर गर्न छिटो छिरितो तरिकामा चेक क्लेरिङ हुने गर्दछ ।

विगतमा चेक मार्फत भुक्तानी हुँदा एक खाताबाट अर्काे खातामा रकमान्तर हुन ३।४ दिनको समय लाग्दथ्यो । तर अहिले चेक क्लेरिङको व्यवस्थाले चेक डिपोजिट गर्दा सोहि दिन वा भोलिपल्ट भित्र रकमान्तर भइसक्दछ । छिटो र छरितो तरिकाले रकमान्तर त भएका छ तर यसरी चेक क्लेरिङ गर्दा रकम भुक्तानी पाउनेको खातामा वास्तविक रकम भने आएको हुँदैन । अझ सरल भाषामा भन्दा यदि तपाईलाई कसैले चेकमार्फत भुक्तानी गरेको छ र चेक क्लेरिङबाट तपाईँको खातामा रकम जम्मा भएको छ भने तपाईँको खातामा तपाईँले पाउने पर्ने वास्तविक रकम भने आएको हुँदैन । तपाईँको खातामा केहि रकम घटेर वा काटिएर जम्मा भएको हुन्छ ।

बैंक तथा वित्तीय संस्थाहरुले चेक क्लेरिङ गर्दा सेवा शुल्क बापत रकम लिने हुँदा वास्तविक रकम खातामा जम्मा नभएको हो । तर यस प्रक्रियामा खातावालाको रकम काटिएको जानकारी भने बैंक तथा वित्तीय संस्थाले गराएको अभ्यास भने छैन । यसरी रकम काटिएको जानकारी नपाउँदा ग्राहकहरु मर्कामा परेका छन् । ‘मैले मेरो खातामा पैसा हाल्न लगाए, उतावाट चेक क्लेरिङ भयो, पाउनुपर्ने पुरा पैसा पाइएन,’ एक उपभोक्ताले भने, ‘यसो गर्दा मेरो बस्तु वा सेवाको वास्तविक मुल्य त मैले पाइन ।’ उनले भने, ‘चेकमार्फत नै कारोबार गर भन्ने अनि गर्दा पैसा काटिने, मर्कामा हामी नै पर्ने कस्तो सिस्टम हो ।’

नेपालमा चेक क्लेरिङको सुविधा नेपाल क्लेरिङ हाउसले दिदै आएको छ । यस क्लेरिङ हाउसका सदस्य बैंक तथा वित्तीय संस्थाहरुको चेक क्लेरिङ हुने गरेको छ । ‘हामीले चेक क्लेरिङको व्यवस्था लागु गरेको हो,’ नेपाल क्लेरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले भने । ‘यो व्यवस्था गरे बापत हामीले सदस्य बैंक तथा वित्तीय संस्थाहरुसंग सेवा शुल्क लिने गर्दछौं, तर बैंक तथा वित्तीय संस्थाहरुले भने ग्राहकहरु कै खातामा सेवा शुल्क लिएको होला,’ प्रधानले भने । उनको अनुसार चेक क्लेरिङ हुँदा नेपाल क्लेरिङ हाउसले सदस्य बैंक तथा वित्तीय संस्थाहरुसंग सेवा शुल्क लिने गरेको तर ग्राहकसंग भने हाउसले लिने नगरेको रहेको छ । तर यता बैंक तथा वित्तीय संस्थाहरुले आफुले उपभोग गरेको सेवाको शुल्क ग्राहकबाट असुल्ने प्रवृति देखिएको छ । ‘बैंक तथा वित्तीय संस्थाहरुले आफुले उपलब्ध गराएको सेवाको लागतको न्युन शुल्क लिने गर्दछ,’ उनले भने ।

नेपाल क्लेरिङ हाउसका अनुसार पाँच सय देखी ५ हजारसम्मको चेकलाई ५ रुपैयाँ, ५ हजार देखी २ लाख रुपैयाँसम्मको चेकलाई १० रुपैयाँ र २ लाख रुपैयाँ माथिको चेक क्लेरिङ हुँदा प्रति कारोबार ३० रुपैयाँ सेवा शुल्क लाग्ने जनाइएको छ । यस्तै ठुला आकारको रकमको चेक र द्रुत चेक क्लेरिङ सेवाको लागि एक सय रुपैयाँ सेवा शुल्क लाग्ने छ । तर अभ्यास भने यो भएको छैन । सानै रकमका चेक क्लेरिङमा पनि २५ देखी ३० रुपैयाँसम्म बैंकले सेवा शुल्क लिएको पाइएको छ । निर्देशन विपरित बैंक तथा वित्तीय संस्थाहरुले सेवा शुल्क लिएको छ । यस विषयमा राष्ट्र बैंकसंग कुरा गर्दा वास्तविक के भएको रहेको भन्ने अध्यायन गर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *