एक महिनामा सुनको मूल्य ७ हजार ४ सयले बढ्यो
काठमाडौं, ११ भदौ । स्थानीय बजारमा पछिल्लो एक महिनामा सुनको भाउ निकै आकाशिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो एक महिनामा सुनको भाउ तोलाको ७ हजार ४ सय रुपैयाँले बढेको छ । गत साउन १४ गते प्रतितोला ६५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ७२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
साउन १४ पछि १५ गते प्रतितोला २ सय रुपैयाँ बृद्धि भएपनि १६ गते प्रतितोला ४ सय रुपैयाँ घटेर प्रतितोला ६५ हजारमा कारोबार भएको थियो । तर, साउन १७ गते सुनको भाउ प्रतितोला ८ सय रुपैयाँ बृद्धि भई प्रतितोला ६५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसयता सुनको भाउ आकाशिन थालेपछि आजसम्म पनि रोकिएको छैन । महासंघका अनुसार सुनको भाउ तत्काल घट्ने छाँट्काँट छैन् । अमेरिका र चीनबीचको व्यापार युद्ध, छिमेकी मुलुक भारत र पाकिस्तानको बिवादका कारण सुनको भाउ प्रभावित भएको व्यवसायीहरुले जनाएका छन् । यो समस्या तत्काल हल हुने अवस्था नरहेकाले सुनको भाउ अझै बढ्ने अनुमान गरिएको हो ।
यो साताको दोस्रो कारोबार दिन सोमबार सुन इतिहासकै सर्वाधिक महँगो भएको थियो । भदौ ९ गते सोमबार सुन प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । तर आज भने सुनको भाउ स्थिर रहेर हिजोकै मूल्य ७२ हजार ६ सयमा कारोबार भइरहेको छ।
त्यसैगरी चाँदीमा पनि एक महिनामा प्रतितोला १ सय ५ रुपैयाँले बृद्धि भएको छ । साउन १४ गते प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज भने प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो भन्दा आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बृद्धि भएको हो । हिजो चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।