Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

दार्चुलाको सदरमुकाममा पहिलो पटक आफ्नै देशको बिजुली बल्यो

दार्चुलाको सदरमुकाममा पहिलो पटक आफ्नै देशको बिजुली बल्यो

दार्चुला, १६ भदौ । दार्चुलाको सदरमुकाम खलंगामा बिहीबारदेखि पहिलोपटक आफ्नै देशको बिजुली बलेको छ । दार्चुलामै रहेको चमेलिया जलविद्युत् आयोजनाको बिजुली उत्पादन भएको झण्डै तीन वर्षपछि सदरमुकाम खलंगामा पहिलोपटक बिजुली बलेको हो ।

महाकाली नगरपालिका ७ स्थित थालिगाडमा निर्माण भएको सबस्टेसन चार्ज भएपछि बिहीबारदेखि दार्चुला सदरमुकाममा चमेलियाको विद्युत् सेवा उपलब्ध गराइएको नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रले जनाएको छ ।

थालिगाडमा निर्माण भएको सबस्टेसन जेठ महिनामा ११ केभी प्रसारण लाइनमै चार्ज गरिएको थियो । गोकुलेश्वरबाट थालिगाडसम्मको ३३ केभीको २५ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । एक सातादेखि ३३ केभी प्रसारण लाइनलाई चार्जिङ टेस्ट गरेर बिहीबारबाट नियमित लाइन सदरमुकामसम्म छोडिएको दार्चुला वितरण केन्द्र प्रमुख दयाराम शाहले बताए ।
थालिगाडबाट एक सर्किटमा सदरमुकाम खलंगासम्म सोमबारदेखि लाइन छोडिएको छ’, उनले भने, ‘समस्या नआएपछि नियमित लाइन छोडिएको हो ।’ अब विस्तारै दोस्रो सर्किटबाट जौलजिवीसम्म लाइन छोड्ने तयारी गरिरहेको उनले बताए ।

थालिगाडबाट पहिलो सर्किटमा सदरमुकाम, दुहु र व्यास गाउँपालिकामा लाइन छोड्ने कार्ययोजना छ । दोस्रो सर्किटबाट जौलजिवी, लाली हुँदै जिल्लाका अन्य ठाउँमा लाइन छोडिने दार्चुला वितरण केन्द्रले जनाएको छ । तत्काल राष्ट्रिय प्रसारणलाइन एवं चमेलियाको बिजुली थालिगाड, मेसिनबालुवा, खेट्टेबगड, किम्तडी, धौलगाड, नमस्कार र सदरमुकामसम्म छोडिएको छ ।
हाल सदरमुकाम माथिल्लो क्षेत्रमा प्रसारण लाइन निर्माणाधीन छ । थालिगाडदेखि तल्लो क्षेत्रमा केही दिनमै लाइन छोडेर जौलजिवीदेखि भारतबाट ल्याएको लाइन काटिने वितरण केन्द्र प्रमुख शाहले जानकारी दिए ।

‘माथिबाट पनि भारतबाट आउने बिजुली काट्न निर्देशन आइसकेको छ’, उनले भने, ‘लाइन छोड्नेबित्तिकै जौलजिवीबाट आउने बिजुली काटिनेछ ।’ नयाँ लाइन र जंगलबाट प्रसारणलाइन आएको हुनाले तत्काल भारतीय बत्ती काट अगाडिजस्तै समस्या आउनसक्ने भन्दै तत्काल नकाटिएको उनले बताए ।

केही ठाउँबाहेक अहिलेसम्म महाकाली र शैल्यशिखर नगरपालिका तथा मालिकार्जुन र लेकम गाउँपालिकाका अधिकांश ठाउँमा राष्ट्रिय प्रसारण लाइन निर्माण भइसकेको र केही ठाउँमा निर्माणाधीन अवस्थामा छन् । दुहु, मार्मा र व्यास गाउँपालिकामा निर्माणाधीन तथा नौगाड र अपीहिमाल गाउँपालिकामा चालु आवबाट प्रसारण लाइन निर्माण हुने वितरण केन्द्र दार्चुलाका प्राविधिक मीनराज पन्तले जानकारी दिए ।

०७३ मा दार्चुलाबाट उत्पादन भएको बिजुली देशका अन्य भागमा प्रयोग भए पनि स्थानीयले भने बल्ल उपभोग गर्न पाएको महाकाली नगरपालिका ७ का रमेश रैखोलाले बताए । २०७३ मा इनर्जी प्याक इन्जिनियरिङ नरेन्द्र निर्माण जेभीसित १ वर्षमा निर्माण सक्ने गरी सम्झौता भएको सबस्टेसनको काम ३ वर्षभन्दा बढी समय लगाएर निर्माण भएपछि स्वदेशकै बिजुली बलेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x