Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

संसदको बजेट अधिवेशन अन्त्य, १४४ दिनमा जम्मा ७ विधेयक पारित

संसदको बजेट अधिवेशन अन्त्य, १४४ दिनमा जम्मा ७ विधेयक पारित

काठमाडौं,२ असोज ।  सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को चालू चौथो अधिवेशन आजदेखि अन्त्य भएको छ । अधिवेशन अवधिभर जम्मा ७ बटा विधेयक मात्र दुवै सदनबाट पारित भएका छन् । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभको आजको तेस्रो बैठकमा अधिवेशन अन्त्यसम्बन्धी राष्ट्रपति कार्यालबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो । पत्रमा चालू अधिवेशन राति १२ बजेदेखि अन्त्य हुने उल्लेख छ । बैठकको अन्त्यमा सभामुख महराले भन्नुभयो, “चालू अधिवेशन राति १२ बजेबाट स्वतः अन्त्य हुने गरी बैठक स्थगित भएको छ । वर्षे अर्थात् बजेट अधिवेशनका रुपमा वैशाख १६ गतेबाट शुरु भएको यो अधिवेशनमा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम र बजेटमाथि छलफल भई पारित भएको थियो । यो अधिवेशन १४४ दिन कायम रहेकोमा  ६० दिनमा ६५ पटक बैठक बसी १९३ घन्टा ४० मिनेट संसदीय काम कारवाहीमा व्यतित भयो ।”

यो अधिवेशनमा सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठक दुई पटक बसी ४ घण्टा पाँच मिनेट समय व्यतित भएको थियो । यस अधिवेशनमा  प्रतिनिधिसभामा १७ वटा सरकारी विधेयक दर्ता भएकामा सात वटा विधेयक सङ्घीय संसद्को दुवै सदनबाट पारित भइसकेका छन् । पाँच वटा विधेयक सभामा प्रस्तुत हुन बाँकी छन् । चार वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन छन् । राजश्व चुहावट अनुसान्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पठाइएको छ । सभाको दोस्रो र तेस्रो अधिवेशनमा दर्ता भएका विभिन्न विधेयक मध्ये आठ वटा विधेयक दुवै सदनबाट पारित भइसकेको छ भने चार वटा विधेयक समितिमा विचाराधीन अवस्थामा नै रहेको छ ।

 औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पठाइसकिएको छ र तीन वटा विधेयक सभामा प्रस्तुत हन बाँकी रहेको छ । राहदानी विधेयक, सङ्घीय संसद्को दुवै सदनबाट संशोधनसहित पारित भएको छ । त्यसैगरी, राष्ट्रियसभामा उत्पति भई प्रतिनिधिसभाको दोस्रो, तेस्रो र यस अधिवेशनमा प्राप्त भएको विभिन्न सात वटा विधेयक मध्ये दुई वटा विधेयक सभाबाट पारित भइसकेको छ भने पाँच वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन रहेको छ । यसरी यस अधिवेशनमा सङ्घीय संसद्बाट कूल १८ वटा विधेयक पारित भए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x