भृकुटीमण्डपमा जारी स्टक क्लियरेन्स मेलामा किनमेल गर्नेको घुँइचो
काठमाडौं, ४ असोज । दशैंलाई लक्षित गरि राजधानीको भृकुटीण्डपमा असोज १ गतेदेखि संचालनमा आएको स्टक क्लियरेन्स मेलामा किनमेल गर्ने ग्राहकको उल्लेख्य घुइँचो लागेको छ । इभेण्ट सोलुसन प्रालिको आयोजनामा सञ्चालन भइरहेको स्टक क्लियरेन्स मेलाको तेस्रो दिनसम्म ५२ हजार बढी अवलोकनकर्ताले सहभागिता जनाईसकेका छन् । आयोजकका अनुसार असोज ३ गते संविधान दिवसको अवसरमा सार्वजनिक विदा परेकाले यस दिनमा मात्र झण्डै २७ हजार अवलोकनकर्ता मेलामा पुगेका थिए ।
अघिल्लो दुई दिनमा २५ हजार बढी अवालोकनकर्ता मेला हेर्न र किनमेलका लागि भृकुटीमण्डप पुगेको इभेण्ट सोलुसन प्रालिका बजार निर्देशक नविन भट्टले जानकारी दिए । इभेण्ट सोलुसनले वर्षेनी आयोजना गर्दै आएको मेलाले आम उपभोक्तालाई सस्तो मूल्यमा एकै छाना मुनि हरेक प्रकारका सामान किन्ने अवसर प्रदान गर्दै आएको छ । चाडपर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु उपलब्ध गराउनका लागि मेलाको आयोजना गरिएको हो ।
एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादन तथा प्रदर्शकहरुको सहभागिता रहेको छ । दशैंका लागि आवश्यक सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकै ठाउँबाट बिशेष छुटमा उपलब्ध गराउने लक्ष्यका साथ आयोजना गरिएको एक्सपोमा फिक्स्ड प्राइसका साथै विशेष अफरहरु प्रदान गरिएको छ । मेलामा जुत्ता तथा चप्पल उद्यमी समुह अन्तरगतका ४ वटा नेपाली ब्राण्डको सहभागिता छ । बिएफ डियर हिल, रन सुज, शिखर सुज र शु ल्याण्डका १ हजारभन्दा बढी मोडलका जुत्ता तथा चप्पलहरुको पनि बिक्रीमेला लागेको छ ।
नेपाल चेम्बर अफ कमर्शले प्रवद्धन गरेको एक्स्पो आगामी आइतबारसम्म चल्नेछ ।