आठ महिनामा करिब साढे ७ लाख पर्यटक भित्रिए
काठमाडौ, ९ असोज । सरकारले पर्यटन बर्ष मनाउँन जोडतोडले प्रचार प्रसार गरे पनि नेपालमा भित्रने पर्यटकको संख्यामा खासै उल्लेखनिय बृद्धि भने भएको छैन । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०१९ को पहिलो आठ महिनाको अवधिमा ७ लाख ४२ हजार ६०० पर्यटक भित्रिएका छन् । यो संख्या गत आवको सोही अवधिको तुलनामा जम्मा ९ प्रतिशतले बढेको हो । जमिन र हवाई मार्ग गरी गत बर्षको सोही अवधिमा भने नेपालमा ६ लाख ८० हजार ९७४ पर्यटक भित्रिएका थिए ।
नेपालमा धेरै पर्यटक भित्राउँनेमा भारत र चिन नै रहेका छन् । भारतबाट १ लाख ४२ हजार २८६ पर्यटक भित्रिएका छन् भने चिनबाट १ लाख ६ हजार ५० पर्यटक भित्रिएका छन् । यूएसएबाट ५८ हजार ६२१ जना छन् ।
त्यस्तै, चाईनिज ताईपेईबाट भित्रने पर्यटक सँंख्या सबैभन्दा धेरै ४९ दशमलव ५ प्रतिशतले बढेको छ । उक्त मुलुकबाट यो बर्षका पहिलो आठ महिनामा ८ हजार ९२५ पर्यटक भित्रिएका छन् । गत बर्षको सोही अवधिमा भने ५ हाजर ९७० भित्रिएका थिए । थाईल्याण्डबाट भित्रने पर्यटकको संख्यामा ३८ दशमलव ९ प्रतिशतले बढेको छ । समिक्षा अवधिमा उक्त मुलुकबाट ३५ हजार १० पर्यटक भित्रिएका छन् भने गत बर्षको सोही अवधिमा भने २५ हजार २०५ पर्यटक भित्रिएका छन् । चेक रिपब्लिकबा भित्रने पर्यटकको संख्यामा ३५ दशमलव २ प्रतिशतले बृद्धि भएको छ । समिक्षा अवधिमा उक्त मुलुकबाट २ हजार १०७ पर्यटक भित्रिएका छन् भने गत बर्षको सोही अवधिमा १ हजार ५५० पर्यटक भित्रिएका थिए ।