कृषि विकास बैकको २ करोड विदेश पठाएछन् ह्याकले
काठमाडौं १३ असोज । गत साता कृषि विकास बैंकको सिस्टम ह्याक गरेर लुटिएको रकममध्ये २ करोड रुपैयाँ ह्याकरले बाहिर लगिसकेको खुलासा भएको छ। बैककै कर्मचारीको युजरनेम र पासवर्ड प्रयोग गरी ह्याकरले ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ व्यक्तिको खातामा ट्रान्सफर गरेका थिए ।
पक्राउ परेका ह्याकरबाट प्रहरीले तत्काल ६० लाख रुपैयाँ नगद बरामद गरेको थियो। जसमध्ये ४० लाख ५० हजार रुपैयाँ सार्वजनिक गरेको थियो भने बाँकी रकम कैलालीमा बरामद भएको जनाएको थियो। अन्य रकम व्यक्तिका खातामा राखिएको र निकाल्न नमिल्ने बताएको पनि ह्याकरले पटक पटक गरी २ करोड रुपैयाँ बाहिर पठाईसकेको प्रहरीको अनुसन्धानले फेला पारेको छ ।
प्रहरीका अनुसार ह्याकरका मुख्य नेपाली एजेन्ट लवाङ हुन । उनलाई धादिङ घर भई गोंगबु बस्ने ५० वर्षीय खम्ब घलेले काले हप्सीु भनिने पिटर हर्मन हासेङसँग लवाङलाई सम्पर्क गराइदिएका थिए। पिटर नाइजेरियन नागरिक भएको अनुसन्धानबाट खुलेको छ। उनकै योजनामा नेदरल्यान्डको आइपीमा भिपिएन प्रयोग गरेर बैंक ह्याकिङ गरिएको थियो। लवाङलाई पिटरसँग सम्पर्क गराइदिने खम्ब भने अझसम्म फरार छन्।
प्रहरीले ह्याकिङ प्रकरणमा संलग्न भएको आरोपमा आइतबार मात्रै बैंकको लहान शाखाका लोन प्रमुख सुनीलकुमार साहलाई पक्राउ गरेको छ। उनी यो प्रकरणमा पक्राउ परेका १७औं व्यक्ति हुन्। यसअघि प्रहरीले १६ जनालाई पक्राउ गरिसकेको थियो।