शहिद परिवारलाई ३ सय ८५ रुपैयाँमा नै ७ लाख रुपैयाँको दुर्घटना बीमा सुविधा
काठमाडौं, ३ कात्तिक । शहिद परिवारले ३ सय ८५ रुपैयाँमा नै ७ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा पाउँने भएका छन् । मुलुकका लागि आफ्नो शरीर आहुति दिने शहिदको सम्मान स्वरुप सरकारले ५० प्रतिशत छुटमा बीमा सुविधा उपलब्ध गराउँन निर्देशन दिएको हो ।
बीमा समितिका अनुसार प्रति हजार प्रति बर्ष १ रुपैयाँ बीमाशुल्क तोकिएको छ । जस अनुसार ७ लाख रुपैयाँको प्रति बर्ष ७ सय रुपैयाँ पर्न आउँछ । जसमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । छुट सहित ३ सय ५० रुपैयाँ पर्न आउँछ । उक्त रकममा प्रत्यक्ष छुट १० प्रतिशत दिईन्छ । अर्थात् बीमा शुल्कमा बिमितले थप ३५ रुपैयाँ छुट पाउँछन् । अर्थात् ३ सय १५ रुपैयाँ पर्छ । तर, हुलदंगाबाट हुने दुर्घटना सुविधाका लागि बिमितले प्रति हजार १० पैसा भुक्तानी गर्नु पर्ने हुन्छ । अर्थात् ७० रुपैयाँ थप गर्नुपर्छ । उक्त रकम सहित शहिद परिवारले ३ रुपैयाँ ८५ रुपैयाँमा दुर्घटना बीमा खरिद गर्न सक्नेछन् ।
दुर्घटनाबाट बिमितको तत्काल ममृत्युु भएमा वा एक सय ८३ दिन भित्र दुर्घटनाको कारणले मृत्यु भएमा बीमांक रकम कम्पनीले भुक्तानी गर्नुपर्नेछ । स्थायी पूर्ण अशक्तता भएमा वा निको नहुने गरी दुवै आँखाको दृष्टि पूर्ण क्षति भएमा, दुवै हातको नाडी वा दुवै खट्टाको गोली गाँठोको जोर्नी वा सो भन्दामाथि शारिरीक रुपले काम नलाग्ने भएमा, एउटा हातको नाडी वा एउटा खुट्टाको गोली गाँठोको जोर्नी वा सो भन्दा माथि देखि र एउटा आँखाको दृष्टि पूर्ण रुपले क्षति भएमा पनि कम्पनीले बीमांक रकम भुक्तानी गर्छ ।
त्यस्तै, एउटा आँखाको दृष्टि पूर्ण रुपले क्षति भएमा, एउटा हातको नाडी वा एउटा खुट्टाको गोली गाँठोको जोर्नी वा सो भन्दा माथिको शारिरीक रुपले काम नलाग्ने गरी क्षति भएमा, बोल्ने क्षमता पूर्ण रुपले क्षती भएमा, दुवै कानको सुन्ने शक्ति पूर्ण रुपले क्षति भएमा कम्पनीले बीमांक रकमको ५० प्रतिशत रकम भुक्तानी गर्छ ।
एउटा कानको सुन्ने शक्ति पूर्ण रुपले क्षति भएमा र हातको बुढी औलाको पूर्ण रुपले क्षति भएमा बीमांक रकमको २० प्रतिशत, हातको चोरी औलाको पूर्ण रुपले क्षति भएमा १५ प्रतिशत, अरु कुनै औलाको पूर्ण रुपले क्षति भएमा ७ प्रतिशत, खुट्टाको बुढी औलाको पूर्ण रुपले क्षति भएमा ५ प्रतिशत, खुट्टाको अरु कुनै औलाको पूर्ण रुपले क्षति भएमा ४ प्रतिशत कम्पनीले भुक्तानी गर्छ । औषधोपचार खर्च बापत भने कम्पनीले १० प्रतिशत भुक्तानी गर्ने छ ।