लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धनमा जोड
काठमाडौं, ६ कात्तिक । मुलुकमा औद्योगिक विकासको मुख्य आधार लघु, घरेलु तथा साना उद्योग भएको भन्दै सरोकारवालाहरुले ति उद्योगहरुको प्रवद्र्घनमा जोड दिएका छन् । नेपाल घरेलु तथा साना उघोग महासंघद्वारा राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले मन्त्रालयले साना उद्योगका क्षेत्रमा प्राथमिकताका साथ काम गर्ने भन्दै यस्ता उद्योगहरुबाट गुणस्तरीय र प्रतिष्पर्धी उत्पादन बजारमा आउनुपर्नेमा जोड दिए । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीले नेपालको मौलिक संस्कृति परम्परा र पहिचान बोकेका उत्पादन अन्तर्राष्ट्रिय मुलुकमा निर्यात गर्ने भएकाले यो क्षेत्रको विशेष महत्व रहेको बताए । यस्ता उद्योगहरुमा योगदानमा आधारित सामाजिक सुरक्षा योजनाका विषयमा पनि सहभागी गराउँदा झनै राम्रो हुने उनले बताए ।
त्यस्तै, उद्योग विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले औद्योगिक विकास गर्नका लागि मुख्य आधार नै साना उद्योग भएको भन्दै गाउँघरका स्थानीय कच्चा पदार्थको प्रयोग हुने रैथाने कुटील उद्योगकोे विकासबाट मात्र औद्योगिक विकास सम्भव भएको बताए । विभागले यस्तै उद्योगको प्रवद्र्घनमा काम गर्दै आएको उनले बताए ।
महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले अबका दिनमा देशको विकास गर्ने माध्यम भनेको लघु, घरेलु तथा साना उद्योग भएको बताउँदै उत्पादन, रोजगारी र कुल गार्हस्थ उत्पादनमा योगदानको हिसाबले यस्ता उद्योगको भूमिका उच्च भएको बताए । साना उद्योगको प्रवद्र्घन र विकास विना मुलुकको आर्थिक समृद्घि सम्भव नहुने उनको भनाई थियो ।