तिहारमा नेपालीले एक अर्व ४६ करोडको मसला र ६१ करोड ५५ लाखको बत्ती किने
काठमाडौं, १३ कात्तिक । नेपालीहरुले तिहारमा एक अर्व ४६ करोड ८३ लाख रुपैयाँको भाइमसला खरिद गरेका छन् । तिहारमा दिदी, बहिनीले आफ्ना दाजु, भाइलाई टिका लगाइ सकेपछि सगुनका रुपमा भाइमसला दिने प्रचलन छ ।
तिहारमा सबैभन्दा धेरै कारोबार भाइमसलाको भएको व्यापारी बताउछन् । भाइमसला भारत, चीन लगायतका मुलुकबाट आयात भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार तिहारमा भाइमसलासँगै ६१ करोड ५५ लाख रुपैयाँ बढीको इलेक्ट्रिक बत्ती आयात भएको छ । तिहारमा घर तथा व्यापारी केन्द्रहरु झिलिमिलि बनाउने गरिन्छ ।
त्यस्तै तिहारमा २५ करोड रुपैयाँभन्दा बढीको फूलको कारोबार भएको अनुमान गरिएको छ। तर फुलको अधिकांश माग भने स्वदेशी उत्पादनले नै धानेको नेपाल पुष्प व्यवसायी संघले जनाएको छ।
जानकारहरुका अनुसार दशै, तिहार र छठ पर्वको बेला वर्षभरी हुने कुल कारोबारको ४० प्रतिशत भन्दा बढी कारोबार हुने गर्दछ । तर त्यो समयमा उपभोग गरिने अधिकांश सामानहरु अन्य मुलुकबाट आयात गर्नुपर्ने बाध्यता छ ।