बैदेशिक रोजगार बीमाको पुर्नबीमा भएन

काठमाडौ १५ कार्तिक । जीवन बीमा कम्पनीहरुले यस बर्ष देखि बैदेशिक रोजगार म्यादी जीवन बीमाको पुर्नबीमा गरेका छैनन् । बैदेशिक रोजगार बीमा पुलबाट जारी हुने भएपछि पुर्नबीमा गर्नु नपर्ने भन्दै बीमा कम्पनीहरुले पुर्नबीमा नगरेका हुन् ।

बीमा समितिले २०७५ माघ देखि बैदेशिक रोजगारी बीमाका लागि पूल निर्माण गरेको छ । पुलबाट जारी भएका बैदेशिक रोजगार बीमाको दाबी पर्दा एउटा कम्पनीको हिस्सामा १ लाख रुपैयाँ भन्दा कम पर्ने भएकाले पुर्नबीमा गर्नुनपर्ने जीवन बीमा कम्पनीहरुले दाबी गरेका छन् । त्यस्तै बीमा समितिले पनि दाबी कम पर्ने भएकाले पुर्नबीमा गर्नु नपर्ने बताएको छ ।

तर, बीमा विज्ञ डा.रविन्द्र घिमिरले भने कम्पनीहरुले पुर्नबीमाका लागि जोखिम उठाउँन नहुने सुझाव दिएका छन् । प्रति बीमा योजनाको दाबी रकम वाँडफाड गर्दा १ लाख भन्दा कम दाबी परे पनि समग्रमा एउटा कम्पनीको भागमा धेरै दाबी पर्न सक्ने उनको दाबी छ । पुर्नबीमा नगर्दा आगामी दिनमा कम्पनीहरुमा आर्थिक जोखिम हुन सक्ने उनले बताए । ्

बैदेशिक रोजगार बीमा योजनालाई सबैभन्दा बढी जोखिमपूर्ण बीमा मानिन्छ । त्यसैले विदेशी पुर्नबीमा कम्पनीले बैदेशिक रोजगार बीमाको पुर्नबीमा गर्न नमानेपछि नेपाल पुर्नबीमा कम्पनीले नै सबै हिस्सा पुर्नबीमा गर्दै आएको थियो । तर, पुल मार्फत बीमा जारी गर्न थालेपछि पुर्नबीमा नभएको नेपाल पुर्नबीमा कम्पनीले बताएको छ । कम्पनीका अनुसार जीवन बीमा कम्पनीहरुले सरकारको निर्देशन अनुसार कम्तिमा पनि २० प्रतिशत पुर्नबीमा नेपाल पुर्नबीमा कम्पनीमा गर्नुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *