Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठ निलम्बित, छानबीन गर्न श्रीराम पौडेलको नेतृत्वमा समिति

राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठ निलम्बित, छानबीन गर्न श्रीराम पौडेलको नेतृत्वमा समिति

काठमाडौं, १८ कार्तिक । वित्तिय क्षेत्रमा अराजकता निम्त्याउन सहयोग गरेको आरोप लागेका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिनका लागि नेपाल राष्ट्र बैंक सञ्चालक समितिले सञ्चालक समिति सदस्य श्रीराम पौडेलको संयोजकत्वमा सदस्यहरु रामजी रेग्मी र सुबोधकुमार कर्ण सम्मिलित तीन सदस्यीय समिति गठन गरेको छ ।

मन्त्रिपरिषद्ले वित्तिय क्षेत्रको अनुशासन भत्काउन बल पुर्याएको भन्दै डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि छानबिनका लागि केन्द्रीय बैंक सञ्चालक समितिले छानबिन समिति निर्माण गरेको छ । यससँगै डेपुटी गभर्नर श्रेष्ठ निलम्बनमा परेका छन् । यद्यपि उनले समिति समक्ष सफाइ पेश गर्न पाउनेछन् । समितिले उनीसँग सोधेको स्पष्टीकरणमा पेश भएको उनको स्पष्टीकरण चित्त नबुझे उनलाई बर्खास्तगीका लागि सिफारिश गर्न सक्नेछ । समितिको सिफारिशका आधारमा सरकारले उनलाई बर्खास्त गर्न सक्नेछ । श्रेष्ठलाई बैंकहरुको खराब कर्जा लुकाउन मद्दत गरेको, वित्तिय अनुशासन भत्काएको, एनसेलको लाभांश फिर्ताका लागि राष्ट्र बैंकबाट मद्दत गरेको जस्ता आरोप लगाइएको छ ।

छानबिन समितिका संयोजक तथा सञ्चालक समिति सदस्य पौडेल पूर्व माओवादी निकट हुन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक पौडेल यसअघि अर्थमन्त्रालयका सल्लाहकार साथै नेकपाका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा उनका आर्थिक सल्लाहकार थिए ।

श्रेष्ठमाथिका उजुरीका आधारमा सरकारले उनीमाथि छानबिन गराउने निर्णय लिएको हो । गठित छानबिन समितिले एक महिनाभित्र प्रतिवेदन तयार गर्नेछ । श्रेष्ठको डेपुटी गभर्नरको पदावधि डेढ वर्ष बाँकी थियो । छानबिनबाट उनी दोषी प्रमाणित भएमा सरकारले उनलाई बर्खास्त गरी गभर्नरको सिफारिशमा डेढ वर्षका लागि वर्तमान कार्यकारी निर्देशकहरुमध्येबाट एकजनालाई डेपुटी गभर्नर नियुक्त गर्न सक्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x