आगामी मंसिर १२ देखि १६ गतेसम्म १७ औं हस्तकला व्यापार मेला हुने
काठमाडौं, २० कात्तिक । आगामी मंसिर १२ गते देखि १६ गतेसम्म १७ औं हस्तकला व्यापार मेला तथा १५ औं हस्तकला प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल हस्तकला महासंघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा काठमाडौंको भृकुटीमण्डपमा उक्त मेलाको आयोजना गर्न लागेको हो ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गरी मेलाको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो । मेलाले स्वदेशी हस्तकलाका सामग्री निर्यातमा सहयोग पुग्ने मेला आयोजक समितिका संयोजक धर्मराज शाक्यले जानकारी दिए । मेलामा स्वदेशी र विदेशी गरी २ सय स्टल रहने जनाईएको छ । विदेशी प्रदर्शनीकर्तामा भारत, श्रीलंका, बंगलादेशका व्यापारीहरुको करिव २० वटा स्टल रहने छन् । मेलामा करिब १० करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ ।
त्यस्तै उक्त मेलामा १५ औं हस्तकला प्रतियोगिता पनि हुने छ । यो वर्षको हस्तकला प्रतियोगितामा परम्परागत विधा तर्फ ‘धातुको भाँडाकुँडा बनाउने’ र समसामयिक विधा तर्फ फरक क्षमता भएका ‘चित्र विधा’मा संलग्न कलाकारहरुबीच प्रत्यक्ष रुपमा प्रदर्शनी गरीने जानकारी दिइएको छ । यी प्रतियोगितामा १५÷१५ जना प्रतियोगी सहभागी हुनसक्ने अपेक्षा गरिएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५० हजार ३० हजार र २० हजार पुरस्कारको व्यवस्था गरिएको छ ।